नारायणगढमा गायन प्रतियोगिता



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान संगीत विभागको आयोजना र नारायणी कला मन्दिर, नारायणगढको सहकार्यमा चितवनको नारायणगढमा क्याम्पसस्तरीय आधुनिक गायन प्रतियोगिता २०७३ सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) को सभापतित्व तथा गीतकार प्रेम विनोद नन्दनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चितवन जिल्लाका विभिन्न क्याम्पसमा अध्यनरत ६० विद्यार्थीमा गत माघ १९ र २० गते गरिएको प्रारम्भिक चरणको प्रतियोगिताबाट १० जना उत्कृष्ट विद्यार्थी छनोट भएका थिए।

छनौट गरिएका १० जनालाई अन्तिम चरणमा प्रतिस्पर्धा गराइएको थियो। कार्यक्रममा गायक प्रसाद श्रेष्ठ, संगीत संयोजक मनोहर सुनाम, गायक विश्व नेपाली र गायिका बानिका प्रधानले समेत आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। अन्तिम चरणको प्रतिस्पर्धामा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका एकराज रोकाया प्रथम, चितवन क्याम्पसकी बिना सेन्चुरी द्वितीय र बुद्ध शान्ति क्याम्पसकी सपना रैलाले तृतीय भएका थिए। त्यसै गरी अमरज्योति क्याम्पसकी सविना गौतम र सगरमाथा टेक्निकल कलेजका रामकुमार परियारले सान्त्वना स्थान हासिल गरेका थिए। विजेताहरुलाई क्रमशः २५, १५, १०, र ५ हजार रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा गीतकार तथा गायक प्रसाद श्रेष्ठ संयोजक थिए भने संगीत संयोजक मनोहर सुनाम, गायक विश्व नेपाली र गायिका बानिका प्रधान सदस्य रहेका थिए।

प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका सभापति भक्त श्रेष्ठ (सरुभक्त) ले प्रतियोगिताले नेपालको गीत–संगीत क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। त्यसै गरी नारायणी कला मन्दिरका अध्यक्ष तथा स्थानीय संयोजक उमेश अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै भविष्यमा कला मन्दिर प्रज्ञा प्रतिष्ठानसँग संगीत तथा नाट्य विधाका गतिविधिहरुमा सहकार्य गर्न इच्छुक रहेको बताए। प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै यस प्रकारका कार्यक्रमले आयोजनाले मोफसलमा रहेका कलाकारको पहिचान गराउने र नयाँ प्रतिभा जन्माउने बताए।

प्रतियोगितामा निर्णायक मण्डलका संयोजक एवं वरिष्ठ गीतकार प्रसाद श्रेष्ठले प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित यस कार्यक्रमले नारायणी क्षेत्रमा कलाकारहरुको उत्साह बढाएको दाबी गरे। त्यसै गरी प्रमुख अतिथि कवि तथा गीतकार प्रेम विनोद नन्दनले यस किसिमले कार्यक्रमले नवोदित कलाकारको मनोबल बढ्नुका साथै मोफसलमा रहेका कलाकारको प्रतिभा उजागर गर्न टेवा पुर्याउने बताए। त्यस्तै कार्यक्रम संयोजक एवं प्राज्ञ उन्नति बोहरा ‘शिला ले कार्यक्रम आयोजनाले संगीत विधाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्।

प्रतिक्रिया दिनुहोस्