जिप दुर्घटनामा ७ को मृत्यु



राम धामी, डडेल्धुरा
जिल्लाको पश्चिमी भागेश्वर गाविसबाट सदरमुकाम डडेल्धुरा आउँदै गरेको से१ज ८३३ नम्बरको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

बगरकोट सडक खण्डको ठूलोखोलानजिकै बुधबार दिउँसो १२ बजे उक्त जिप दुर्घटनामा परेको थियो। जिप सडकबाट ३ सय मिटर तल खसेको थियो। भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही ठाउँका जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस–५ का नरपति पाण्डेय र कामदेव चटौतको घटनास्थलमै र दिवाकर पाण्डेयको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, भागेश्वर–७ का पद्म मल्लको उपचारको क्रममा मृत्यु भएको पनि डडेल्धुरा प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले घाइते ४ जनाको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको बताउनुभयो। अस्पतालमा भीमसिंह ठगुन्ना, रामेश्वर भट्ट, किशोर भट्ट र जानकी भट्टको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

जिप दुर्घटनाको खबर पाउनेबित्तिकै उद्धारका लागि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी घटनास्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बताउनुभयो।
उकालो घुम्तीमा गाडी चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखाएको छ। घटनास्थल सदरमुकामबाट करिब ७ किलोमिटरको दूरीमा पर्छ। जिल्लाका आन्तरिक रुटहरूमा उग्रतारा बस व्यवासायी समितिले जिपहरू सञ्चालन गर्दै आएको छ। क्षमताभन्दा बढ्ता यात्रुहरू बोकेर जिपहरू सञ्चालन हुँदै आएका छन्। ग्रामीण क्षेत्र आवतजावत गर्ने अधिकांश सडक जोखिमपूर्ण छन्। निर्माणाधीन अवस्थामा रहेको बागबजार–बगरकोट सडकमा बाटो खराब भएकै कारण दुर्घटना भएको हुनसक्ने स्थानीयको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्