मनाङले पहिलो खेल मोहम्मेदनसँग खेल्ने



नेपाल समाचारपत्र
काठमाडौं
यही फेब्रुअरीमा हुने शेख कमाल इन्टरनेसनल क्लब गोल्ड कपको दोस्रो संस्करणमा सहभागी हुने टोली मनाङमस्र्याङ्दी फुटबल क्लबलाई मंगलबार बिदाइ गरिएको छ।

२३ खेलाडीसहित ३१ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गर्दै छ। प्रतियोगिताको समूह ‘बी’मा रहेको मनाङले पहिलो खेलमा बंगलादेशको चर्चित टिम मोहम्मेदन स्पोर्टिङसँग खेल्नेछ। सो समूहमा अफगानिस्तानको साहिन अस्माय एफसी र बंगलादेशको चितगोंग अबहानी लिमिटेड रहेका छन्। चितगोंग अबहानी डिफेन्डिङ च्याम्पियन टोली हो। पहिलो संस्करणमा टोलीले कोलकाताको इस्ट बंगाललाई ३–१ ले हराएको थियो।

यस्तै समूह ‘ए’मा बंगलादेशको ढाका अबहानी, किर्गिस्तानको एफसी अल्गा बिस्केक, दक्षिण कोरियाको पोचने सिटिजन फुटबल क्लब र माल्दिभ्सको टिसी स्पोर्ट्स क्लब रहेका छन्। प्रतियोगिता आगामी शनिबार फागुन ७ गतेदेखि चितागोंगस्थित एमए अजिज स्टेडियमा शुरु हुनेछ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने टोली मनाङले यस सिजनमा तीन घरेलु प्रतियोगितामा उपाधि जितेको छ। जसमा सुदूरपश्चिम खप्तड गोल्ड कप, आहा–रारा गोल्ड कप र झापा गोल्डकपमा उपाधि हुन्। कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय उपाधि नेपाल भित्त्याउने आशा गरेका छन्।

उनले भने– ‘प्रतियोगितामा सहभागी हुनु अवसरको रुपमा हेरेको छु। अन्तर्राष्ट्रिय उपाधि जित्ने आशामा छु। त्यस्तै यो प्रतियोगितामा हाम्रा खेलाडीका लागि अरू सहभागी क्लबका पदाधिकारीलाई प्रभावित गराउन अवसर मिल्नेछ। यदि उनीहरू प्रभावित भएमा नेपाली खेलाडीले विदेशी क्लबमा खेल्ने मौका पाउनेछन्।’

मनाङको टोलीमा कप्तान अनिल गुरुङ, एडामा बो सिसोको, अफिज ओलावाले ओलाडिपो, अमिर केसी, विक्रम लामा, विमल बस्नेत, विमल राना, विराज महर्जन, विशाल राई, देवेन्द्र तामाङ, दीप कार्की, दिनेश थापा मगर, दोना थापा, हेमन्त थापा मगर, कमल श्रेष्ठ, निराजन मल्ल, रोहित चन्द, सोनाम गुरुङ, सुजल श्रेष्ठ, सुशील लामा, ओगाबेमिरो ओलासेमी सामसन, तेन्जिङ गुरुङ, विजय घले रहेका छन्।

प्रतिक्रिया दिनुहोस्