नेपालीको पहिलो मेहन्दी पसल



दीपेन्द्र थापा, कम्बोडिया, (सिमरिप)
रोजगारीको खोजीमा दिनहुँ विदेशिने नेपालीको संख्या लामै हुन्छ। चाहे महिला, चाहे पुरुष दिनहँु वैध वा अवैध बाटोबाट विदेश जाने गरेका छन्। विदेशमा गएर अधिकांशले अरूको काम गर्ने नै हो। स्वरोजगार बन्ने भन्ने कमैको कल्पना हुन्छ। अझ महिलाका निम्ति त यो अलि गाह्रो विषय हो।

रजनी थापा मगर भने अपवादमध्येकी एक हुन्। जो कम्बोडियामा पुगेर मेहन्दीको व्यवसायमा संलग्न हुनुहुन्छ। कम्बोडियाकी पहिलो मेहन्दी व्यवसायीसमेत रहेकी रजनीले त्यहाँ भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, श्रीलंका, इन्डोनेसिया, क्यानडा, पोल्यान्डका ग्राहकको मन जित्न सफल हुनुभएको छ। महिलाले आफ्नो शृंगारका रूपमा प्रयोग गर्ने मेहन्दीलाई व्यवसायका रूपमा शुरू गरेको करिब दुई वर्ष भयो।

शुरूमा पर्यटन भिसामा कम्बोडिया पुगेकी तनहुँ दमौलीकी ३२ वर्षीया रजनीले २०७१ वैशाख ११ गतेदेखि कम्बोडियामा व्यवसाय शुरू गर्नुभएको हो। पहिले सिंगापुरमा व्यवसाय सञ्चालन गर्ने सोच बनाए पनि त्यहाँ धेरै लगानी गर्नुपर्ने भएपछि रजनीले अवसरको खोजी गर्दै कम्बोडिया पुगेको बताउनुभयो।

कम्बोडियाको राजधानी नोम्पेहनबाट ३२१ किलिोमिटर टाढा सिमरिप शहरमा हेना लभर इन कम्बोडिया नाम राखेर पसल सञ्चालन गर्नुभएको छ। करिब २ लाख ४० हजार जनसंख्या रहेको सिमरिप त्यहाँको पर्यटकीय शहर हो। सन् २०१६ मा करिब ५० लाख पर्यटन कम्बोडिया पुगेको तथ्यांक छ। कम्बोडिया पुगेका पर्यटकहरूमध्ये अधिकांश सिमरिप शहर पुग्ने गर्दछन्।

सस्तो र नाइट मार्केटका रूपमा परिचित सिमरिप शहरमा पृथक व्यवसाय शुरू गरेकी रजनी औंलामा गन्न सकिने नेपाली व्यवसायमध्येकी एक हुन्। कम्बोडियामा ५७ प्रतिशत जनसंख्या कृषिमा निर्भर भए पनि पर्यटन पनि आम्दानीको मुख्य स्रोत रहेको छ। त्यसैलाई आधार बनाएर रजनीले मेहन्दीको व्यवसाय शुरू गरेको बताउनुभयो।

शुरू व्यवसाय सञ्चालन गर्न गाह्रो भए पनि क्रमशः पर्यटकले रुचाउन थालेपछि उहाँ उत्साहित हुनुभयो। त्यसैका कारण दुई वर्ष नपुग्दै उहाँले सिमरिप शहरमै सात स्थानमा महेन्दी पसल स्थपना गर्नुभएको छ। रजनी भन्नुहुन्छ– ‘हातमा सीप भएपछि हरेक काम सम्भव हुन्छ। हरेस खानुहँुदैन। पढेरभन्दा परेर बढी जानिन्छ भनेको होरहेछ।’ अहिले रजनीसँग १९ जना कर्मचारी रहेका छन्। आफू र भाइका साथै एक जना भारतीयबाहेक सबै कम्बोडियन नागरिक उहाँ कर्मचारी हुन्।
‘विदेशमा आफ्नै व्यवसाय खोलेर त्यहाँलाई पनि रोजगारीको अवसर दिन पाउँदा निकै खुसी लाग्दो रहेछ’ राजनीले भन्नुभयो। सात शाखाबाट उहाँले मासिक २५ हजार डलर आम्दानी हुने गरेको नेपाल समाचारपत्रसँग बताउनुभयो। पसलका लागि आवश्यक सामान भारतबाट लैजाने गर्नुभएको छ। कम्बोडिया जानुअघि रजनी सिंगापुरमा १२ वर्ष रोजगारी गर्नुहुन्थ्यो। ‘सिंगापुर महँगो ठाउँ हो, त्यहाँ सानो लगानीले व्यवसाय खोल्न र चलाउन सकिँदैन, त्यसैले म सस्तो र उपयुक्त ठाउँको खोजी गर्दै कम्बोडिया आइपुगे।’

आफ्नो व्यवसायलाई विस्तार गर्ने क्रममा रजनीले मेहन्दी पसलबाहेक नेपाली गार्मेन्टका कपडा, थाइल्यान्ड र भारतका रेडिमेड कपडाको पसल सञ्चालन गर्नुभएको छ। उहाँको अनुभवमा कम्बोडियामा सस्तोमा सामान खोज्ने ग्राहक बढी आउँछन् त्यसैले ‘म धेरैजसो सामान भारतबाट नै ल्याउँछु नेपालबाट ल्याउँदा लागत बढी पर्छ।’

प्रतिक्रिया दिनुहोस्