राप्रपालाई चुनाव लाग्यो



काठमाडौं, (नेस)
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति १ सय ६१ सदस्यीय हुने भएको छ। जसमा पदाधिकारी सदस्य १५ रहनेछन्। विधान मस्यौदा समितिका संयोजक बुद्धिमान तामाङले मंगलबार पेस गर्नुभएको विधान मस्यौदालाई कार्यसम्पादन समितिले पारित गरेको छ।

कार्यसम्पादन समितिले विधान मस्यौदा पारित गरेपछि अब फागनु ६ गतेदेखि शुरू हुने महाधिवेशनमा पेस हुनेछ। तत्कालीन अवस्थामा एकीकरणसम्बन्धी नीति तथा आधारपत्रअनुरुप तयार पारिएको राप्रपाको अन्तरिम विधान २०७३ अनुसार केन्द्रीय समिति ३ सय सदस्यीय रहने व्यवस्था थियो। केन्द्रीय महाधिवेशनबाट नयाँ विधान पारित नभएसम्म अन्तरिम विधान कायम रहने व्यवस्था छ।

राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार नयाँ विधानमा अध्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था छ भने ६० प्रतिशत सदस्य निर्वाचित र ४० प्रतिशत मनोनित हुने व्यवस्था गरिएको छ। नयाँ विधान अनुसार १५ सदस्यीय पदाधिकारीमा तीन जना उपाध्यक्ष रहनेछन् भने महामन्त्री ३, प्रवक्ता १, कोषाध्यक्ष १, सहमहामन्त्री ५, सहायक महामन्त्री ७, सहायक कोषाध्यक्ष १ र सहायक प्रवक्ता २ रहने व्यवस्था गरिएको छ। पदाधिकारी सबैलाई निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ।

यसअघि संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा पार्टी अघि बढ्नेबारे पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रलाई कार्यसम्पादन समितिले पारित गरिसकेको छ। कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपतिशमशेर जबराको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी मंसिर ६ गते एकीकरण हुँदा राप्रपाले राजसंस्थाको बारेमा निर्णय गरेको थिएन।

पार्टी एकीकरणका बेला दुवै पाटीले राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र सम्वृद्ध हिन्दूराष्ट्र निर्माण गर्ने मूल लक्ष्य बनाएका थिए
प्रवक्ता श्रेष्ठका अनुसार दुई दिनपछि शुरू हुने महाधिवेशनको तयारी अन्तिम लगभग सकिएको छ। महाधिवेशनमा तीन हजार तीन सयभन्दा बढी प्रतिनिधि र करिब ३ सय पर्र्यवेक्षक सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्