सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई दज्र्यानी चिह्न



नेपाल समाचारपत्र
काठमाडौं
गृहसचिव लोकदर्शन रेग्मीले सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएका सिंहबहादुर श्रेष्ठलाई मंगलबार गृहमन्त्रालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ मन्त्रिपरिषदको फागुन १ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो। महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्दै अग्रज नेतृत्ववर्गले थालनी गरेको कार्यलाई निरन्तरता दिँदै सबैको सल्लाह सुझावअनुरूप अगाडि बढ्ने बताउनुभएको छ
गृहसचिव रेग्मीले राज्यले सुम्पेको जिम्मेवारीलाई सशस्त्र प्रहरी बलले उपलब्धिमूलक ढंगबाट पूरा गर्दै आएको चर्चा गर्नुहुँदै नयाँ नेतृत्वले प्राप्त उपलब्धि र पूर्वज नेतृत्ववर्गले गरेका कार्यहरूलाई निरन्तरता दिँदै परिणाममुखी कार्यसम्पादनमा कृयाशील रहने विश्वास व्यक्त गर्नुभयो।

नेतृत्ववर्गले संगठनका सकल दर्जालगायत सबैको विश्वास जित्दै संगठनलाई सबैको आशा, भरोसा र विश्वासको केन्द्रविन्दुका रूपमा स्थापित गर्नुपर्ने बताउनुहुँदै गृहसचिव रेग्मीले भन्नुभयो– ‘मातहत कर्मचारीको खुसी र पीरमर्कालाई ध्यान दिँदै कार्य गर्न सक्ने नेतृत्व नै सधैं सफल ठहरिन्छ।’
नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले देश र जनताको सेवा र सुरक्षामा पेशागत इमान्दारिताकासाथ मन, वचन र कर्मले कर्तव्यनिष्ठ रहने उल्लेख गर्नुहुँदै संगठनलाई प्राप्त म्यान्डेटअनुसार अग्रजहरूले थालनी गरेका सकारात्मक कार्यहरूलाई निरन्तरता दिँदै संगठन अगाडि बढ्ने बताउनुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले राज्यको मूल्य, मान्यता र नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई अक्षरस पालना गर्दै सशस्त्र प्रहरी बल कार्यक्षेत्रमा कटिबद्ध रहने बताउनुहुँदै सुरक्षास्थिति र भूगोलअनुसार आवश्यक कार्ययोजनासहित संगठनका सम्पूर्ण राष्ट्रसेवकहरूलाई चलायमान ढंगले परिचालन गरिने उल्लेख गर्नुभयो।

उक्त समारोहमा सशस्त्र प्रहरी बलका अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू वासुदेव वली, सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ र दुर्जकुमार राईलगायत गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो। सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले मंगलबार नै सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा पदबहाली गर्नुका साथै सशस्त्र प्रहरी बलका अधिकृत तथा बिल्लादार जवानहरूलाई निर्देशन दिनुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले नेपाल सरकार र नेपाली नागरिकको भरपर्दो सुरक्षा निकायका रूपमा सशस्त्र प्रहरी बललाई स्थापित गर्न आगामी दिनमा अझै मेहनत र त्यागका साथ कर्तव्यपथमा समर्पित रहन मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ वि.सं. २०४४ साल चैत २९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जाबाट सेवा प्रवेश गर्नुभएको हो। उहाँ २०५८ साल वैशाख ४ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुनुभएको हो।

त्रिभुवन विश्वविद्यालयबाट एमए गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले स्वदेश तथा विदेशमा गरी विभिन्न १९ वटा व्यावसायिक तालिम हासिल गर्नुका साथै विभिन्न आठवटा मानपदवी, अलंकार र पदकबाट सुशोभित हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्