सामसुङ कम्पनीका प्रमुख लिसँग पुनः सोधपुछ



सोल, (एजेन्सी)
दक्षिण कोरियाको अहिलेसम्मकै सबैभन्दा ठूलो राजनीतिक भ्रष्टाचारमा संलग्न रहेको आशंका गरिएका सामसुङ कम्पनीका प्रमुख लि जाय योंगलाई सोमबार दोस्रोपटक सोधपुछ गरिएको छ। सरकारी वकिलहरूले लिविरुद्ध पक्राउ पुर्जी जारी गर्ने विषयमा हुने सुनुवाइमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

सामसुङलाई राष्ट्रपति पार्क गेयुन ह्येका घनिष्ठ मित्रद्वारा सञ्चालित गैरआयमूलक संस्थाहरूलाई राजनीतिक फाइदाका लागि चन्दा सहयोग दिएको आरोप लगाइएको छ। अदालतमा सुनुवाइ शुरु हुनुअघि लिले आफूले पुनः एक पटक सत्य बोल्न लागेको बताएका थिए।

अन्य थुप्रै कम्पनीका कार्यकारिणी अधिकारीहरूसँगै गत जनवरीमा नै लिसँग सोधपुछ गरेको थियो। तर यथेष्ट प्रमाणको अभावमा उनलाई पक्राउ गर्न नसकिने बताइएको थियो। केही सातादेखि पुनः अनुसन्धानकर्ताले यस मुद्दाबारे पुनर्विचार गर्दै नयाँ ढंगले उनीसँग सोधपुछ गर्ने निर्णय गरिएको थियो।

सरकारी वकिलहरूले पार्ककी निकटतम व्यक्ति चोइ सुन सिल र उनकी छोरीलाई राजनीतिक सहयोगको बदलामा सामसुङले ३१ लाख अमेरिकी डलर दिएको आरोप लगाइएको थियो। यसै भ्रष्टाचार काण्डको कारण गत डिसेम्बरमा राष्ट्रपति पार्कविरुद्ध महाअभियोग लगाइएको थियो। संसदीय सुनुवाइको क्रममा सामसुङले चोईका दुईवटा संस्थालाई १ करोड ७४ लाख ६० हजार डलर दिएको स्विकारे पनि त्यसबापत कुनै पनि राजनीतिक फाइदा नलिएको जनाएको थियो।

लि हाल सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष रहेका छन्। तर सन् २०१४ मा आफ्नो पिता लि कुन हीलाई ह्दयाघात भएपछि उनी अप्रत्यक्ष रुपमा सामसुङ ग्रुपकै सर्वेसर्वा रहँदै आएका छन्। विधायकहरूले गत ९ डिसेम्बरमा राष्ट्रपति पार्कविरुद्ध महाअभियोग लगाउन मतदान गरेका थिए। पार्कविरुद्धको उक्त महाअभियोग सदर गर्ने वा नगर्ने भन्ने विषयमा दक्षिण कोरियाको संवैधानिक अदालतले ६ महिनाभित्र निर्णय दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्