निर्वाचनको मिति घोषणा नगरे सरकार परिवर्तन हुन्छः श्रेष्ठ



SONY DSC

हेमन्त पौडेल, धनगढी ।
नेपाली काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले सरकारले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा नगरे सरकार परिवर्तन हुने बताउनुभएको छ । चैत बैशाखमा सरकारले निर्वाचन नगराएमा सरकारको नेतृत्व फेरिने नेता श्रेष्ठको भनाई छ । प्रेस यूनियन कैलालीले मंगलवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपसभापति श्रेष्ठले सो विचार ब्यक्त गर्नुभएको हो ।

उहाँले एमाओवादी केन्द्र र नेपाली काँग्रेसबीच भएको भद्रसहमति अनुसार ९ महिना एमाओवदी केन्द्र र ९ महिना नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने भद्र सहमति अनुसार चैत बैशाखमा सरकारको नेतृत्व परिवर्तन हुनेमा कुनै विवाद नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

सरकारले तत्काल निर्वाचन मिति चैत बैशाखमा गर्ने गरेर घोषणा गरेमा निर्वाचनका कारण केही दिन ढिला हुन सक्ने भएपनि त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने श्रेष्ठले बताउनुभयो । चुनाव भएपनि नभएपनि आगामी वर्षको बजेट नेपाली काँग्रेस नेतृत्वको सरकारले ल्याउने उहाँले जानकारी दिनुभयो । अब विगतमा जस्तो पुरानो ढर्राको नभई नयाँ र प्रगतिशील बजेट ल्याउनुपर्ने भएकाले अहिलेदेखिनै उत्कृष्ट बजेट तयार गर्ने काममा नेपाली काँग्रेस लग्नुपर्नेबेला भएको नेता श्रेष्ठले बताउनुभयो ।

भद्रसहमतिलाई एमओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यान्वयन गर्ने आफूलाई पूर्ण विश्वास रहेको बताउँदै नेता श्रेष्ठले तत्काल स्थानीय निर्वाचनकालागि मिति घोषणा गर्न ढिलाई गर्न नहुने बताउनुभयो । संविधान संशोधन र निर्वाचन मिति ताक्ने काम संगै गर्नुपर्ने धारणा राख्नुभयो ।

संविधान परिवर्तशील दस्तावेज भएकाले समय अनुसार परिमार्जन गर्दै जान सकिने भएकाले यसको प्रक्रिया पनि अघि बढाउने र निर्वाचनको मिति पनि घोषणा गरेर जानुपर्ने सुझाव नेता श्रेष्ठको छ । स्थानीय निर्वाचन नभएको लामो समय भएकाले स्थानीय जनताले विकासको काम चाहेअनुसार नभएको र कर्मचारीले मात्र स्थानीय निकाय चलाउँदा जनताले चाहे अनुसारको काम नभएकाले तत्काल स्थानीय निर्वाचन गराउनुपर्नेमा जोडदिनुभयो ।

माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्ने संबैधानिक ब्यवस्था भएकाले निर्वाच गर्न ढिला गर्न नहुने उहाँका तर्क छ । अहिले संक्रमणकालिन अवस्था रहेकाले स्थानीय तह नभई स्थानीय निकायको काम गर्नुपर्ने धारणा नेता श्रेष्ठको छ । स्थानीय तहप्रति मधेशवादी सहमत नभएकाले निकायकै निर्वाचन गरेर भएपनि अघि बढ्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

सवै मिलेर संविधान कार्यान्वयन र संरक्षण गर्नुपर्ने बताउँदै काँग्रेस नेता श्रेष्ठले सोमवार दलहरुलाई बोलाएर निर्वाचनमा जान राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह सकारात्मक रहेको बताउनुभयो । राष्ट्रपतिले सवै दलहरुलाई बोलाएर संविधान कार्यान्वयनको बाटोमा अघि बढ्न गरेको आग्रह स्वागतयोग्य रहेको उहाँको भनाई छ ।
प्रेस यूनियनका कैलाली अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्