लुम्बिनी खुकुरी फाइनलमा



नेपाल समाचारपत्र
भैरहवा
लुम्बिनी खुकुरी क्रिकेट क्लब, नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ। सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा वेष्टर्न क्रिकेट क्लब बुटवललाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै साबिक उप बिजेता लुम्बिनी खुकुरी उपाधी नजिक पुगेको हो।

टस जितेर ब्याटिंग रोजेको लुम्बिनी खुकुरीले निर्धारित ४० ओभरको खेलमा ९ विकेट गुमाई २ सय २१ रनको योगफल तयार गरेको थियो। जसमा कप्तान अन्तिम थापाले आकर्षक ७३ रन बनाए भने सबिन शाक्यले ३५, बिजय सुनार २४, मान बहादुर थापाले १५ रनको योगदान दिए। वेस्टर्नका वीरेन्द्र सोमरे र बिक्रम भुषालले समान २।२ तथा सुभाष बिके र राहुल कुमारले एक एक विकेट पाए।

प्रतिउत्तरमा वेस्टर्न ३० ओभर ३ बलमा १२९ रन बनाउँदै अलआउट भयो। वेस्टर्नकान भुवन पाण्डेले ३१, बिक्रम भुषाल २६, सौरभ खनाल २२ र देब खनालले १७ रन बनाए। वेस्टर्नलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी खुकुरीका शाह आलमले ४ , रोहित पौडेलले ३, दुर्गेश गुप्ताले २ र लाल बहादुर अधिकारीले १ विकेट लिएका थिए। खेलमा लुम्बिनी खुकरीका अन्तिम थापा म्यान अफ द म्याच हँुदै पुरस्कृत भए।

जारी प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान दुबैले ५⁄५ हजार नगद पुरस्कार पाउने छन्।

प्रतिक्रिया दिनुहोस्