नक्कली गुलाबमा रमाउँदै युवापुस्ता



प्रणय दिवसको अवसरमा युवापुस्ताको मागलाई ख्याल गर्दै भारतबाट मात्रै
४ करोड रुपियाँ बराबरको फूल नेपाल झिकाइएको छ।

समिना तिमल्सिना, काठमाडौं
भक्तपुर कमलविनायक निवासी अनिल तिमल्सिना सोमबार एकाबिहानै नजिकै रहेको विनायक गिफ्ट सपमा पुगेर साहुजीसँग गुलाब मागे। माया नटुटोस् भनेर आफ्नी प्रेमिकालाई प्रदान गर्न उनले खरिद गरेको गुलाब भने वास्तविक नभई कृत्रिम थियो। आज मंगलबार फेब्रुवरी १४ अर्थात् प्रणय दिवस (भ्यालेन्टाइन डे)का अवसरमा नेपालमा मात्रै होइन विश्वभरिकै युवायुवती विशेषरूपमा मनाउने तरखरमा रहेका छन्। अहिलेको मौसममा नेपालमा भने कृत्रिमले नै काम चलाउनुपर्ने अवस्था रहेको छ। किनकि वास्तविक गुलाब यो मौसममा ओइलाएर जाने र अहिले नफुल्ने भएकाले कृत्रिम फूलले काम चलाउनुपर्ने बाध्यता आइलागेको हो।

देशभरका गिफ्ट पसलहरूमा पछिल्ला दिनमा युवायुवतीको निकै नै भीड बढेको देख्न सकिन्छ। पश्चिमी संस्कृतिको प्रभावका कारण आज प्रणय दिवस भनेरै एक हप्ताअघि १ लाख ६० हजार थान गुलाबको कृत्रिम फूल नेपाल भित्रीएको छ। गतवर्ष १ लाख ५० हजार थान फूल आयात भएको थियो। यद्यपि नेपालमा यो दिवसका लागि मात्रै २ लाख कृत्रिम फूल माग रहेको फ्लावर एसोसियसन नेपालले बताएको छ। गुलाबको फूललाई प्रेमको प्रतीकका रूपमा लिइन्छ। नेपालमा २० प्रतिशत कृत्रिम फूल बन्ने र बाँकी ८० प्रतिशत फूल भारतबाट आयात हुने गरेको एसोसियसनका अध्यक्ष दिलीप बाँधेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

अहिले ४ करोड रुपियाँ मूल्यभन्दा बढीको फूल भारतबाट आयात भएको एसोसियसनले जानकारी दिएको छ। एक थान गुलाबको फूललाई २५ देखि ४ सय रुपियाँसम्म पर्ने कृत्रिम फूलका व्यापारीहरूले बताएका छन्।

नेपालमा कृत्रिम फूल नबनेर नै भारतबाट धेरै मात्रामा आयात गर्नुभएको हो भन्ने जिज्ञाशामा एसोसियसनका अध्यक्ष बाँधेको भनाइ थियो– ‘प्रणय दिवस जाडो सकिने बेला र गर्मी मौसम शुरु हुँदा पर्छ। गुलाबको फूल वैशाख–जेठतिर गर्मी मौसममा फुल्छ। त्यही भएर बाध्यताले कृत्रिम फूल आयात गर्नुपरेको हो। अर्को कुरा काम गर्ने दक्ष जनशक्ति नहुँदा समस्या भएको हो। यस कामप्रति धेरैको रुचि छैन।’

प्रणय दिवसको अवसरमा गुलाब, खेलौना, चक्लेट र अन्य उपहारहरू प्रदान गर्ने चलन छ। देशभरका युवायुवतीले शुभकामना आदानप्रदान गर्दै यो दिन कतै घुम्न जाने पनि गर्दछन्। तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डेलाई संसारका प्रेमिल मनहरूले सम्झना स्वरूप भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो।

रोमका तत्कालीन सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे। सम्राट्को आदेशलाई एक सन्त भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए। सन्तले आफ्नो आदेशको उल्लङ्घन गर्नु सम्राट्का लागि सह्य कुरा थिएन। सम्राट्ले उक्त व्यक्तिलाई १४ फेबु्रअरीको दिन मृत्युदण्ड दिए। त्यही दिन १४ फेब्रुअरीलाई संसारभरिका प्रेमी–प्रेमिकाहरुले सम्झना स्वरूप भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो।

प्रतिक्रिया दिनुहोस्