विदेशको पैसा घरखर्चमै ठिक्क



नेपाल समाचारपत्र
काठमाडौं
विप्रेषणको माध्यमबाट नेपालमा भित्रिने रकमको अधिकांश हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषणबाट आएको रकम घरखर्च र विलासिताका वस्तुको खरिदमा खर्च हुँदै आएकाले उक्त रकम उत्पादनशील क्षेत्रमा खर्च हुन नसकेको हो।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक नारायण पोखरेलका अनुसार वैदेशिक रोजगारीबाट आएको पैसा नेपालमा दैनिक उपभोग्य वस्तु किन्नमा नै बढी खर्च हुन्छ। बचत गर्ने र उत्पादनशील क्षेत्रमा लगानी गर्ने विषयमा सर्वसाधारण नै जानकार छैनन् साथै चासो पनि राख्दैनन्। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘ वैदेशिक ऋणपत्रमा लगानी गर्ने, व्यक्तिगत बचतमा वृद्धि गर्ने र अन्य नाफामुलक क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने विषयमा राज्य तहबाटै सर्वसाधारणलाई जानकारी गराउनुपर्ने अवस्था छ।’

नेपालको राष्ट्रिय उत्पादन, उपभोग, बचत र लगानीको अवस्था हेर्ने हो भने मिश्रित रहेको देखिन्छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२⁄७३ मा गरेको आर्थिक सर्वेक्षणअनुसार कुल ग्रार्हस्थ उत्पादनमा उपभोगको अनुपात ९४ दशमलब ६ प्रतिशत र बचत ५ दशमलब ४ प्रतिशत रहेको छ। राष्ट्र बैकको सर्वेक्षणमा मासिक १० हजार रुपियाँ आम्दानी भएको व्यक्तिले ४ सय ५० रुपियाँमात्रै बचत गर्छ। तर, विप्रेषणकै कारणले राष्ट्रिय बचत अनुपात भने ४३ प्रतिशत रहेको उल्लेख छ। विप्रेषणले राष्ट्रिय बचत अनुपात बढेको देखिए पनि आन्तरिक उत्पादकत्व वार्षिक घट्दो क्रममा छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७२⁄७३ मा १७ दशमलब ५४ प्रतिशतले निर्यातमा कमी आएको सर्वेक्षणमा उल्लेख छ। देशमा आन्तरिक उत्पादकत्व घट्ने तर उपभोग र आयात गर्ने क्षमतामा वृद्धि भएर वस्तु र सेवाको माग बढ्ने भइरहनुमा विप्रेषण मुख्य कारक रहेको राष्ट बैंकका प्रवक्ता नारायण पौडेलको भनाइ छ।

नेपाल राष्ट्र बैंक र वैदेशिक रोजगार विभागले विभिन्न संस्थामार्फत् म्यानपावर कम्पनी र विदेश जाने व्यक्तिलाई पैसा बचत गर्ने विषयमा प्रशिक्षण दिइरहेको वैदेशिक रोजगार विभागका निर्देशक रमा पौडेलले बताउनुभयो। वैदेशिक रोजगारीमा जाने व्यक्ति र उनीहरूका आफन्तलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने सचेतना र चासो नभएकै कारण राष्ट्र बैंकले बेला–बेलामा जारी गर्दै आएको वैदेशिक बचतपत्रमा सर्वसाधारणको सहभागिता अत्यान्तै न्यून हुने गरेको तथ्यांक छ।

अर्कोतर्फ वैदेशिक रोजगारीका निम्ति मुलुकबाट ठूलो संख्यामा श्रमशक्ति विदेशिएपछि मुलुकको आन्तरिक उत्पादनमा पनि कमी आएको छ। खेतबारी बाँझो रहनु, थप उत्पादनका लागि श्रमशक्तिको अभाव हुनु, विप्रेषणको पैसाबाट दैनिक उपभोग्य वस्तु (खाद्यान्न) खरिद गर्नु र परनिर्भता बढ्दै जानुले पनि राष्ट्रिय उत्पादकत्वमा ह्रास आउँदै गएको विभिन्न अध्ययनले देखाएको छ। नेपालको अर्थतन्त्रको मुख्य आधार बनेको विप्रेषणबाट झण्डै ५७ प्रतिशत नेपालीको घरमा विदेशबाट पैसा आउँछ। कुल ग्राहस्थ उत्पादनमा ३० प्रतिशत योगदान रहेको विप्रेषणमार्फत् वार्षिक करिब ६ खर्ब रुपियाँ विदेशी मुद्रा नेपाल भित्रिन्छ। तर, वैदेशिक रोजगार र विप्रेषणकै कारणले देशको आन्तरिक उत्पादनसंँगै अन्तराष्ट्रिय व्यापारमा भने नकारात्मक प्रभाव पारेको छ।

प्रतिक्रिया दिनुहोस्