सामुदायिक रेडियोहरुका लागि विशेष पहल हुन्छः प्रधानमन्त्री



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक रेडियोहरुको विकासको लागि आफूले तत्काल पहल गर्ने बताउनुभएको छ । विश्व रेडियो दिवसको अवसरमा राजधानीमा अकोराबले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उहाँले तत्काल गर्न सकिने र दीर्घकालीन रुपमा गर्न सक्ने काम आफूले रेडियोहरुका लागि गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

सामुदायिक रेडियोहरुको संख्यात्मक बृद्धिले मुलुकको भाषिक र सांस्कृतिक विविधतालाई संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान गरिरहेकोले यिनिहरुको दिगो बिकासका लागि छुट्टै कार्यक्रम ल्याउन उहाँले सञ्चारमन्त्रीका साथै सरोकारवाला मन्त्रालयलाई निर्देशन दिनुभयो

नयाँ सञ्चार नीतिको कार्यान्वयन र नीतिले व्यवस्था गरेको सामुदायिक रेडियो सम्बन्धी छुट्टै नीति ल्याउनु पर्ने सामुदायिक रेडियोको तयारीलाई सरकारको साथ रहने विश्वास पनि उहाँले दिलाउनुभयो ।

मुलुकमा नयाँ संविधान जारी भई हामी संविधान कार्यान्वयनको चरणमा छौं । संविधानको कार्यान्वयनको प्रमुख पक्ष संघीयताको कार्यान्वयन भएको सन्दर्भमा यसलाई सारभूत रुपमा कार्यान्वयन गर्न विद्यमान संरचनालाई संविधानमा व्यवस्था गरिएअनुरुप तल्लो तहमा अधिकार लैजाने गरी रुपान्तरण गर्नु आवश्यक छ ।

प्रधानमन्त्री प्रचण्डले रेडियो दिवसका अवसरमा सवै रेडियोकर्मी तथा रेडियो सुन्ने स्रोतालाई पनि बधाइ तथा शुभकामना पनि दिनुभयो । साथै उहाँले रेडियोहरुबाट भविष्यमा अझ प्रभावकारी कार्यक्रम र विषयवस्तुको अपेक्षा पनि आफूले गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आउदो बर्षको माघ ७ गते सम्म तीनै तहको निर्वाचन सम्पन्न हुने विश्वास दिलाउनुभयो । संविधानमा भएको प्रावधान अनुसार अबको १ बर्षको भित्र तीनै तहको निर्वाचन गरिसक्ने बताउदै उहाँले बैंशाखको अन्त्यदेखि जेठभित्र स्थानीय तहको चुनाव गर्ने गरी सरकार लागिरहेको जानकारी दिनुभयो ।

अहिले पनि केही पक्ष संविधान कार्यान्वयनको विपक्षमा लागेको गूनासो गर्दै उहाँले प्रधानमन्त्रीको हैसियतमा आफूले अहिले पनि परिवर्तनलाई संस्थागत गर्न वैचारिक संघर्ष गरिरहनु परेको बताउनुभयो । देशमा अझै एउटा पक्ष शासन र शक्ति सिंहदरबारमै केन्द्रीत गर्ने सोचमा रहेको भन्दै त्यस्ता पक्षसँग डटेर लड्न उहाँले सबै पक्षलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्