निकुञ्ज विस्थापित आन्दोलित



भीमदत्तनगर, २ फागुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितले आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा आन्दोलन थालेका छन् ।

शुक्लाफाँटा निकुञ्ज जग्गा अधिग्रहण र मुआब्जा उपलब्ध गराउने सम्बन्धित गठित कार्यदलले काम सुरु गरेसँगै विस्थापितले कार्यदलको कार्यालयमा पुगेर आन्दोलन थालेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले आयोगको प्रतिवेदन अनुसार देखिन आएका एक हजार ४८० परिवारको अद्यावधिक कार्यमा विस्थापितले असहमति जनाउँदै अवरोध गरेको बताउनुभयो ।

आयोगको प्रतिवेदन अनुसार विस्थापित परिवारको कागजात छानबिन गरी जग्गा मुआब्जा वा आर्थिक राहत दिने कार्यदलले तयारी गरेको थियो । तर विस्थापितले २४७३ परिवार पूर्णरुपमा विस्थापित रहेको दाबी गर्दै सबैलाई सम्बोधन गर्नुपर्ने माग राख्दै आएका छन् ।

“मुआब्जामा हामीलाई कम्तीमा प्रतिपरिवार दश कट्ठा पाउनुपर्ने हाम्रो माग हो ।” निकुञ्ज विस्थापित मदन पन्तले भन्नुभयो–“विस्थापितलाई बढीमा पाँच कट्ठा जग्गा वा राहतस्वरुप रु पाँच लाख दिने भनेकोप्रति हामी सहमत छैनौँ ।”

विसं २०५८ मा निकुञ्ज विस्तारका क्रममा जग्गाको प्रमाण पुर्जा भएकालाई सरकारले प्रतिपरिवार दश कट्ठा जग्गा उपलब्ध गराएको थियो । अद्यावधिक तथ्याङ्क फारम भर्न कार्यदलको सम्र्पक कार्यालय भीमदत्तनगरमा स्थापना गरिएको छ ।

कार्यदलले अद्यावधिकका लागि विस्थापितलाई फागुन १ गतेदेखि आगामी वैशाख २ गतेसम्मका लागि समयसिमा तोकेको छ । तर विस्थापितले मुआब्जा र राहत रकमप्रति असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्