दोस्रो विश्वयुद्धताकाको बम निस्क्रिय पारियो



एथेन्स, (एजेन्सी)
ग्रिसको थेस्सालोनिकी शहरमा दोस्रो विश्वयुद्धको एउटा बम निस्क्रिय पारिएको सरकारी अधिकारीहरूले आइतबार जनाएका छन्। यसका लागि करिब ७० हजार व्यक्तिलाई शहर छोड्न बाध्य पारिएको थियो।

जमिन खन्ने क्रममा २ सय ५० किलोग्राम वजनको बम भेटिएको थियो। निस्क्रिय पारिएको सो बमलाई अब त्यहाँबाट फायरिङ रेन्जमा लगिने अधिकारीहरूले बताएका छन्। ग्रिसको शहरी इलाकामा भेटिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो दोस्रो युद्धको बम भएको बताइएको छ।

बम निस्क्रिय पार्नुअघि प्रहरीले घरघरमा गई स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ गइदिन अनुरोध गरेको थियो। अधिकांश व्यक्ति कारबाट सो शहर छोडेर हिँडेका थिए। तर केहीलाई भने बसहरूमा राखेर विद्यालय तथा स्पोर्ट्स हलहरूमा पठाइएको थियो।

त्यसपछि खाल्डो माथि एउटा ग्रिक सञ्चार संस्थाले राखेको क्यामेरा हटाउनुपरेकाले बम निस्क्रिय पार्ने काममा केही ढिलाइ भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दालाई निस्क्रिय पारिएको सो बम आइतबार रातिसम्ममा हटाइने भएकाले त्यतिन्जेलसम्म नफर्कन पनि आह्वान गरिएको छ। यस कार्यको कारण प्रभावित तीनवटा नगरपालिकामा संकटकाल घोषणा गरिएको छ। त्यहाँ ट्रेन र बसलगायत चर्चसेवासमेत बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्