भारतद्वारा प्रतिरोधी क्षेप्यास्त्रको सफल परीक्षण



नयाँ दिल्ली, (एजेन्सी)
भारतले पूर्वी राज्य उडिसाको सामुद्रिक क्षेत्रबाट एउटा प्रतिरोधी क्षेप्यास्त्रको शनिबार सफल परीक्षण गरेको छ।

यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् लेखेका छन्– ‘हाम्रा वैज्ञानिकले प्रतिरोधक क्षेप्यास्त्रको निर्माण गरेका छन्। विश्वका चार–पाँच राष्ट्रले मात्र यस किसिमको क्षेप्यास्त्रको निर्माण गर्न सफल भएको अवस्थामा पाएको यस सफलताका लागि वैज्ञानिक समूहलाई बधाई छ।’

उडिसाको अब्दुल कलाम टापुबाट बंगला खाडीमा गरिएको उक्त सफल परीक्षणपछि अब भारतले आफूमाथि प्रहार गरिएका क्षेप्यास्त्रलाई आकासमै ध्वस्त पार्न सक्ने भएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक शहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको थियो। पाकिस्तानले यसरी बन्ने गोप्य आणविक शहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने भन्दै भारतीय प्रतिरक्षा प्रणाली विस्तारबारे चासो व्यक्त गरेको थियो।

भारतले छोटो दूरी क्षमताको क्षेप्यास्त्रको एकपछि अर्को गर्दै परीक्षण गरिरहेको र यसले एसियाली मुलुकमा सुरक्षाका हिसाबले रणनीतिक सन्तुलनमा समस्या उत्पन्न हुने पाकिस्तानले पत्रकारहरूलाई जानकारी गराएको थियो।

पाकिस्तानको विदेश विभागका प्रवक्ता नफिज जकारियाले यसबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्दै भारतको यस कदमप्रति ख्याल गर्दै समग्र महादेशको सुरक्षा स्थितिप्रति संवेदनशील बनिदिन पनि उनले आग्रह गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्