माओबादी जनयुद्धको दिन रुकुममा सुनसान



धनवीर दाहाल, रुकुम ।
तत्कालिन माओबादीले जनयुद्ध थालेको २२ बर्ष पुरा भएको दिन अर्थात फाल्गुन १ गते । जुन दिन शान्ति प्रक्रिया सुरु हुनुभन्दा अघि निकै त्रास लाग्दो हुने गर्दथ्यो । अर्थात फाल्गुन १ गतेको अघिल्लो दिन राति रुकुमका सबैजसो गाँउहरुमा राँके जुलुश निकालिने गरिन्थ्यो भने १ गते गाँउमा बिशेष कार्यक्रम गरेको पाइन्थ्यो ।

यति मात्र होइन फाल्गुन १ गते कुनै न कुनै ठाँउमा आक्रमण भएकै हुन्थ्यो । त्यसैले फाल्गुन १ गते आउनै लाग्दा अव केही घटना घटेको सुनिने हो कि भन्ने चिन्ता स्थानियमा हुन्थ्यो । २०५२ फाल्गुन १ मा रुकुम रोल्पाबाट तत्कालिन माओबादीले जनयुद्धको घोषणा गर्दै शसस्त्र युद्धको थालनी गरेको थियो ।

नेपालमा जनगणतन्त्रको स्थापना गर्ने भन्दै रुकुम र रोल्पाबाट थालेको माओबादी युद्धका कारण धेरै नेपालीले ज्यान गुमाए भने त्यतिकै मात्रामा घाइते भए । माओबादीले युद्ध थालेर पहिलो पटक समानान्तर सरकार संचालन गरेको रुकुममा भने यतिबेला निकै सुनसान देखिएको छ । शान्ति बहालीपछि माओबादी बिभाजन भएर धेरै टुक्रा भएपछि त्यतिबेला युद्ध लडेका तथा युद्धमा घाइते अपांग भएकाहरु पनि बिभाजन भए ।

त्यसैको परिणाम अहिले रुकुम जस्तो माओबादीको उद्गम स्थलमा निकै सुनसान देखियो । केही ठाँउमा तुल ब्यानर र पोष्टर टाँस्नु तथा केही बन्द कोठामा कार्यक्रम गर्नु बाहेक बिगतका वर्ष जस्तै भब्य कार्यक्रमहरु भएनन् । माओबादी कार्यकर्ताहरु पार्टी बिभाजन भएर निकै क्षति भएको बताउँछन् ।

अहिलेको यो अवस्थाले गर्दा माओबादीहरु मिल्नुको बिकल्प नभएको उनीहरुको भनाई छ । नेकपा माओबादी केन्द्र रुकुमका उपाध्यक्ष गोपेश्वर के.सीले पार्टी बिभाजन हुनु दुखद पक्ष भएको बताउनुभयो । उहाँले अब माओबादीहरु मिल्ने बेला आएको र छिट्टै सबै माओबादी एक हुने दावी गर्नुभयो ।

माओबादी केन्द्रका युवा नेता धनबहादुर खड्काले नेताहरुले पार्टी भन्दा सत्तातिर ध्यान दिएका कारण जनयुद्धको मर्ममा चोट लागेको बताउनुभयो । उहाँले अवका दिनमा सबै कम्नियुष्ट पार्टीहरु एक हुनुको बिकल्प नभएको बताउनुभयो ।
रुकुमका २ वटै निर्बाचन क्षेत्रमा बिजय हासिल गरेको माओबादी केन्द्रले कोठे कार्यक्रम बाहेक भब्य कुनै पनि कार्यक्रम गरेन । माओबादी केन्द्र रुकुमले मुसिकोटको बालमन्दिर हलमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

तर गाउँमा भने माओबादी सर्मथक कार्यकर्ता र सुवेच्छुकहरुले जनयुद्धको झल्को दिनेगरी बिभिन्न मेला, महोत्सव र सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । पार्टीका नेताहरुलाई त्यतापट्टी ध्यान नभएपनि कार्यकर्ताहरु भने आफ्नो पुराना दिनहरुको स्मरण गरिरहेका छन् ।
माओबादीले युद्ध थालेपछि रुकुमको चुनबांग, महत, खारा, पिपल लगाएतका केही ठाँउ निकै चर्चित भए । तर शान्ति बहाली भएपछि माओबादी बिभाजन हुनु र नेताहरु सत्तामुखी भएपछि माओबादी लडाकुहरु दैनिक रुपमा खेलेको ठाँउलाई बिर्सेको स्थानियहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्