भूमिराज २ सेकेन्डले पहिलो



काठमाडौं, (नेस)
महाशिवरात्री तथा सेना दिवस २०७३ को अवसरमा शनिबार सम्पन्न प्रधानसेनापति खुला म्याराथन दौडमा भूमिराज राई २ सेकेन्डले पहिलो भएका छन्।

नेपाल प्रहरीका भूमिराजले २ घण्टा २४ मिनेट १३ सेकेन्डमा ४२ दशमलव १९५ किमीको दूरी पूरा गरी पहिलो स्थान हात पारेका हुन्। दोस्रो भएका नेपाली सेनाका कृष्ण बस्नेतले २ घण्टा २४ मिनेट १५ सेकेन्डमा दौड पूरा गरे। त्यस्तै सेनाकै राजन खत्रीले २ घण्टा २५ मिनेट ५० सेकेन्डमा सो दौड पूरा गरी तेस्रो स्थान हासिल गरे।

उक्त म्याराथनमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले शीर्ष तीन हासिल गर्ने विजेतालाई पुरस्कार वितरण गर्नुभयो। जसमा भूमिराजले १ लाख, कृष्णले ५० हजार र राजनले २५ हजार नगद प्राप्त गरेका थिए। त्यस्तै भूमिराजलाई यामाहा कम्पनीका सुजनराज श्रेष्ठले मोटर साइकलको साँचो हस्तान्तरण गरे।

उक्त प्रतियोगितामा २१ किलोमिटर हाफ म्याराथनतर्फ पुरुषमा नेपाली सेनाका कल्याण बा“निया पहिलो भए। त्यस्तै महिलातर्फ सेनाकी विश्वरूपा बुढा पहिलो भइन्। दुवैले जनही २५ हजार हासिल गरेका थिए। विश्वरूपाले पनि यामाहा कम्पनीबाट स्कुटर प्राप्त गरेकी थिइन्। यस्तै प्रमुख अतिथि प्रधानसेनापति क्षत्रीले एथ्लेटिक्सका ८ जना पूर्वखेलाडीहरूलाई दोसल्ला, सम्मानपत्र र नगद पुरस्कारबाट सम्मान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्