स्ववियु निर्वाचनप्रतिको धारणा, औचित्य र आशा



रामप्रसाद गौतम
नेपालको पुरानो र धेरै विद्यार्थी भएको त्रिभुवन विश्वविद्यालयले आगामि फागुन १४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ। ठूल्ठूला क्याम्पसहरूमा चुनावको रौनक छाइसकेको छ। यस पटक त्रिविविले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको छ। यसअन्तर्गत उम्मेदवारी दर्ता गर्ने अन्तिम मितिसम्म २८ वर्ष उमेर नपुगेका विद्यार्थीले मात्र उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ।

२८ वर्षे उमेर हदले एउटा नया“ बहसको ढोका पनि खोलिदिएको छ। २८ वर्ष पुगेकाले पढ्न पाउने, विद्यार्थी बन्न पाउने तर उम्मेदवार बन्न नपाउने। एउटा अटपटे निर्णय त्रिविविले गरेको छ। जिम्मेवारी लिनका लागि तल्लो तहको उमेर हदको एउटा पाटो रहन सक्छ तर विद्यार्थी बनेर क्याम्पस जान पाउने तर आफ्नो हक–हितका लागि उम्मेदवार बन्न नपाउने निर्णय आफैंमा मिलेको छैन। तर, विद्यार्थी संगठनहरू यसमा सहमत भए र निर्वाचन कार्यतालिकासमेत प्रकाशित भइसकेको अवस्था छ।

यसअघि विभिन्न विद्यार्थी संगठनले चुनावको दिनसम्म पनि विद्यार्थी भर्ना गराएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने होडबाजी गर्दथे तर अहिले त्यस्तो नहोस् भनेर चुनावको ठीक एक महिनाअगाडि २०७३ माघ १५ गतेबाट नै स्नातक तहको भर्ना रोकिएको छ। उमेरको हदबन्दीले चुनाव बिथोल्न सक्ने संभावना पनि उत्तिकै प्रवल छ।

किनकि राजनीतिक पार्टीको चुनाव र स्थानीय तथा संसद्को चुनावमा अहिलेसम्म यस्तो हदबन्दीको चर्चा पनि नहुने तर विद्यार्थीमा यो हदबन्दी जायज वा नाजायज भन्ने प्रश्नको माझ विभिन्न क्याम्पसमा तालाबन्दी हुनुले पनि चुनावको सुनिश्चतामा प्रश्नचिह्न लगाएको छ। यसका कानुनी आधार के–के छन् त्यो अझै गहन अध्ययनको विषय बन्ला। चुनाव पछिसम्म यसको औचित्यमाथि छलफल हुने निश्चित छ।

विद्यार्थी संगठनहरू विशुद्ध विद्यार्थीबाट मात्र सञ्चालित भएका हु“दैनन्। विभिन्न राजनीतिक पार्टिले फरक नाममा विद्यार्थी संगठनहरूलाई आफ्नो भ्रातृ संगठनको वैधानिकता दिएका हुन्छन् र उनीहरूलाई बहुप्रयोगमा ल्याइरहेका हुन्छन्। यो सामान्यतया विद्यार्थीको चुनावका रूपमा देखिन्छ तर वास्तवमा राजनीतिक पार्टीकै चुनावको पूर्वाभ्यासको रूपमा पनि यसलाई देख्न पाइन्छ। सबै राजनीतिक दलले कुनै न कुनै रूपमा आफ्नो संगठनले जितोस् भन्ने चाहना राखेकै हुन्छन्। विद्यार्थी चुनावको आधारमा पनि पार्टीहरूले आफ्नो रणनीति तय गर्दछन्।

किनकि यसले पनि देशमा कुन पार्टी राजनीतिक विरासत कति छ भन्ने बारेमा अलिकति सन्देश प्रवाह गर्दछ। विद्यार्थी राजनीति एउटा कलेजको दैनिक प्रशासनसँग सीमित हुनुपर्ने हो। यसले केवल विद्यार्थीले उचित शिक्षादीक्षा पाएका छन् वा छैनन् भन्ने विषय ध्यान केन्द्रित गर्नुपर्ने हो तर नेपालको विद्यार्थी राजनीतिको इतिहास केही फरक छ। यहाँ राजनीतिका केही दिग्गजहरू विद्यार्थी राजनीतिबाट नै आपूर्ति हुन्छन्। त्यसैले सानै क्याम्पसमा भए पनि जित्नु गर्वको विषय बन्न जान्छ।

यस पटकको स्ववियु निर्वाचन विगतभन्दा फरक छ। अहिले केही पदहरू प्रत्यक्षका लागि र केही पद समानुपातिकका लागि छुट्याइएको छ। जस्तै अहिले प्रत्येक क्याम्पसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५१ प्रतिशत सदस्य प्रत्यक्षतर्फबाट र बाँकी उपाध्यक्ष, सहसचिव र ४९ प्रतिशत सदस्य समानुपातिकबाट छनौट हुने व्यवस्था भएकाले एउटा मात्र पार्टीले पूरै प्यानल जित्न निकै कठिन छ।

यस पटक चुनावलाई मर्यादित र व्यवस्थित बनाउन धेरै नियम बनाइएको छ। क्याम्पस हाता वरिपरि वाल पेन्टिङ गर्न प्रतिबन्ध गरिएको छ। सबै उम्मेदवारबीच सौहार्द्र वातवरण होस् भन्ने उद्देश्यले सबै उम्मेदवारलाई एउटै मञ्चमा राखेर परिचय गराउने व्यवस्था गरिएको छ। स्ववियुमा सबै पक्षको सहभागिता होस् भन्ने उद्देश्यले प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि अलग मतपत्र र मतपेटिकाको व्यवस्था गरिएको छ।

यसरी एउटा स्वच्छ विद्यार्थी युनियनको परिकल्पना गरिएको छ। जसले विशुद्धरूपमा विद्यार्थीको हित र कल्याणमा ध्यान दिन सकोस्। नेपालमा जयतु संस्कृतम् आन्दोलनदेखि नै विद्यार्थीले क्याम्पस प्रशासनलाई मात्र नभएर देशको प्रशासनलाई चुनौती दिएका उदाहरण छन्। २००७, २०४६ र २०६२ को आन्दोलनमा विद्यार्थीले परिवर्तनका लागि ठूलो भूमिका निर्वाह गरेका हुन्। तर, अबको दिनमा विद्यार्थीको भूमिकालाई राजनीतिमा भन्दा शिक्षा र यसको उन्नयनमा व्यस्त गर्नुपर्ने आवश्यकता सबै तर्फबाट महसुस गरिएको छ।

तर, अझै पनि त्रिविवि पदाधिकारी नियुक्तिमा भने राजनीतिक भागवण्डा खुलेआम हुन्छ। जबकि प्राज्ञिक क्षेत्र जहिले पनि निष्पक्ष र निस्कलंक हुनुपर्ने थियो। यस विषयमा हाम्रा विद्यार्थी संगठनले आवाज उठाउ“दैनन्। भ्रातृ संगठन भनेको त्वं शरणवाद होइन। भ्रातृ तथा भगिनी सबैको आ–आफ्नो अलग हातखुट्टा र टाउको हुन्छ। त्यसैले यसले पनि राष्ट्रिय मुद्दामा आफ्नो फरक अडान राख्न सक्नुपर्छ तर त्यो अहिलेसम्म देखिएको छैन।

ढुंगामुडासहितको एकथान जितभन्दा सुझबुझसहित बाटो बिराइरहेको राजनीतिक दर्शनलाई ठाउँमा ल्याउनसक्ने किसिमको विद्यार्थी नेतृत्व आओस् भन्ने चाहना आम नेपालीको छ। त्यसैले आगामि स्ववियु चुनावले मधेस, पहाड र तराईलाई समेट्न सक्ने एउटा साझा नेतृत्व प्रस्तुत गर्न सकोस्। यो चुनाव सबै प्रकारको धा“धली, मारपिट र वैमनश्यताबाट मुक्त रहोस्। यसले आफ्नो कार्यदिशालाई विगतको भन्दा फरक बनाओस्।

प्रतिक्रिया दिनुहोस्