नेपाल प्रहरीमा चन्द र सशस्त्रमा श्रेष्ठ आइजीपी, सिलवाल निराश



काठमाडौं ,(नेस) । सरकारले डीआईजी जयबहादुर चन्दलाई आइतबार नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ । आइतबार बिहान ९ बजे बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीका चार दाबेदार मध्ये चन्द वरियता क्रममा तेस्रो नम्बरमा हुनुहुन्थ्यो । पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश रहनु भएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा चन्दलाई प्रहरी प्रमुख बनाइएको बताइँदै आएको छ । आज आइतबार ४ बजेको लागि मन्त्री परिषद्को बैठक डाकिएकोमा देउवाले शनिबार राति प्रधानमन्त्रीलाई भेटेपछि मन्त्रिपरिषद्को बैठक आज बिहानका लागि थोकिएको थियो । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको कार्यावधी यही फागुन ३ गतेबाट सकिने भएकोले चन्दले त्यसपछि कार्यभार सम्हाल्नु हुनेछ ।

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखका लागि बरियतामा श्रेष्ठ पहिलो नम्बरमा हुनुहुन्थ्यो भने एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझामा दावेदार रहनु भएको थियो । शसस्त्र प्रहरीका प्रमुख दुर्जकुमार राईको कार्यकाल आउँदो चैतमा सकिँदैछ । श्रेष्ठले त्यसपछि कार्यभार ग्रहण गर्ने बुझिएको छ ।

नेपाल प्रहरीमा तेस्रो बरियताका व्यक्तिलाई महानिरीक्षक बनाइएकाले पहिलो नम्बरमा रहेका नवराज सिलवालको भूमिका अब के हुन्छ भन्ने प्रश्न उब्जेको छ । उहाँले सुन तस्करीको जालो चिर्नका लागि महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको थियो । आइतबारको मन्त्रिपरिषद्को निर्णयपछि सिलवालले निराशा व्यक्त गर्नु भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्