कुराको हजम



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शुक्रबारको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री पुकदाको मन्तव्यका बारेमा धरहरा वरपर पनि धेरैको बहस भएको देखियो। उहाँ भन्दै हुनुहुन्थ्यो– ‘भ्रष्टाचार कम भएन। नियन्त्रण गर्नुपर्यो।’ बोली यही नभए पनि भाषा यस्तै थियो। अनि फेरि भन्दै हुनुहुन्थ्यो– ‘भ्रष्टाचारबारे छानबिन गर्दा पदीय मर्यादाको पनि ख्याल गरियोस्।’ कस्तो गजब कुरा, अब ठूलो पदमा हुनेले भ्रष्टाचार गर्यो भने अख्तियारले छानबिन गर्ने कि नगर्ने त? कुरा अलि हजम भएन नि? साना अनि सर्वसाधारणले त के भ्रष्टाचार गर्छन् र? गर्ने ठूलैले हो। अनि अख्तियारले कसको छानबिन गरोस् र भ्रष्टाचार नियन्त्रण होस् त।

तर, अख्तियारले विगतमा एकाध पटक समय सन्दर्भ बेगर लोकमान युगमा बदमासी गर्नचाहिँ खोजेको हो। मुलुकको कार्यकारी प्रमुख छिमेकी मुलुकको भ्रमणमा रहेका बेलामा लडाकूको खर्चबारे छानबिन गर्न भन्दै पत्रकार सम्मेलनचाहिँ नगरेको भए हुन्थ्यो। किनकि त्यसले असर गर्दा पुकदालाई मात्रै गर्दैनथ्यो समग्र नेपालीलाई असर गर्न सक्थ्यो। मित्रराष्ट्रसँग बार्गेनिङ पावर घट्थ्यो। त्यसबाट मुलुकलाई नै नोक्सानी हुन सक्थ्यो। तर, त्यसको मतलब अहिले पनि लडाकू खर्च बारे नहेर भनिएको हो भनेचाहिँ अलि हजम नहोला है प्रमज्यू। कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्