जागिरमा छँदाको पाप–पुण्यको फल



रोहिणी घिमिरे
नेपाल सरकारका भूतपूर्व सचिव डा. स्वयम्भुमान अमात्यद्वारा लिखित ‘जागिरे जीवनपछिका अनुभवहरू’ नामको पुस्तक बजारमा आएको छ । विभिन्न मन्त्रालयमा सचिव, विभिन्न विभागमा महानिर्देशकसमेतको अनुभव हासिल गरी ‘रिटायर्ड’ हुनुभएका डा. अमात्यको यो पुस्तकमा जागिरे जीवनपछि आफूले देखे–भोगेका घतलाग्दा र रोचक अनुभवहरू समेटिएका छन् ।

जागिरे जीवनपश्चात्को समय भनेको जागिर खाँदाका समय गरेका पाप–पुण्यको फल भोग्ने समय रहेको कुरा डा. अमात्यले बडो रोचक ढंगले आफ्नो पुस्तकमा प्रस्तुत गर्नुभएको छ । उहाँको विचारमा विशेषगरी निजामती कर्मचारीको हकमा आफू बहाल हुँदा गरेका पाप–पुण्यको फल यही जन्ममा सेवा निवृत्त भएपछि भोग्नुपर्ने रहेछ । त्यसैले एकजना निकट व्यक्तित्व वन मन्त्रालयका का.मु. सचिव मञ्जुल हकज्यूले ‘अमात्यजी ⁄ आजकाल के गर्दै हुनुहुन्छ ?’ भनी सोधेको उत्तरमा उहाँले जागिरे हुँदा आफूले गरेका पाप–पुण्यको कमाइ खाइरहेको छु भनेर जवाफ दिनुभएछ । उहाँको यो प्रसंगले बहालवाला कर्मचारीलाई राम्रैसँग झकझक्याउने देखिन्छ ।

त्यस्तै फोन हाकिमलाई दिनुपर्दा ‘टक्र्याएँ, हवस् हजुर, आइबक्स्या छैन, जाहेर गर्छु’ आदि बोली सुन्ने बानी परेको उहाँको कानलाई सेवा निवृत्तपश्चात् कतै फोन गर्दा हुन्छ भनिदिन्छु, फेरि फोन गर्नुहोला भन्ने अलि ठाडो शब्द सुन्नुपर्दा उहाँलाई नमज्जा लागेको रहेछ । त्यस्तै सरकारी सेवामा रहँदा मोबाइलमा घरी–घरी फोन आई व्यस्तता थप्ने कार्य भए पनि सेवा निवृत्तिपश्चात् कतैबाट फोन नआउँदा मोबाइल सेट नै बिग्रिएको हो कि जस्तो उहाँलाई भान पर्दो रहेछ । उहाँका यी भनाइले पदमा हुन्जेल मात्रै सबैको हाइहाइ हुने तर पदबाट हटेपछि कसैले गन्दोरहेनछ भन्ने पनि बुझिन्छ ।

डा. अमात्यले पुस्तकमा लेख्नुभएअनुसार सेवा निवृत्त कर्मचारीको पेन्सनपट्टाको पाना पनि सात वर्षका लागि मात्र हुने गरी तयार गरिने रहेछ अरे । उहाँका एक मित्रले पेन्सनपट्टाको पाना किन थोरै भनेर सम्बन्धित कार्यालयका प्रमुखलाई सोध्नुहुँदा निजामती कर्मचारीको आयु सेवा निवृत्त भएपछि लगभग सात वर्षसम्म रहने भएकाले त्यति समयलाई यो पट्टाको पाना पर्याप्त हुन्छ भन्ने उत्तर आएको थियो रे । सेवा निवृत्त कर्मचारीको अनुभव–दक्षताबाट पुनः मुलुकले फाइदा लिनुपर्नेमा वृद्ध भएका उनीहरूले के नै गर्न सक्लान् भन्ने सोच हाबी भएको यस घटनाबाट पुष्टि हुन्छ । तर डा. अमात्य अझै सक्रिय रहनुभएको उहाँको पुस्तकले दखाएको छ । यसले अन्य सेवा निवृत्त कर्मचारीको मनोबल बढाउने देखिन्छ ।
यस्तै पुराना गाडी किनबेच हुने ठाउँ तेज एन्ड करणबाट आफू नराम्रोसँग ठगिएको विस्तृत विवरण उहाँले पुस्तकमा उल्लेख गर्नुले गाडी किन्नेहरूलाई सतर्क गराएको छ ।

अधिकांश निवृत्त सरकारी कर्मचारी घर, मठ–मन्दिर, भजनगृह आदिमा सीमित रहेका देखिन्छन् तर डा. अमात्यले सरकारी सेवाबाट निवृत्त भएपछि पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रियताका साथ कार्यहरू गर्नुभएको रहेछ ।
वन⁄कृषिसम्बन्धी परामर्शदाताको रुपमा पूर्वी टिमोरमा पुग्दा त्यहाँ कृषकलाई चन्दनको बिरुवा उपलब्ध गराएर वन⁄कृषि प्रणाली अपनाइएको देखेर डा. अमात्य छक्क पर्नुभएको थियो रे । नेपालमा पनि वन⁄कृषि प्रणालीलाई जोड दिन सके हुन्थ्यो भनेर सरकारलाई पुस्तकमार्फत घचघच्याउनुभएको छ लेखकले ।
नेपालबाट ल्यापटप नलगेको र पूर्वी टिमोरमा किन्न पनि धेरै महँगो पर्ने भएकाले आफू सामानविनाको सिकर्मीजस्तो भएको कुरा लेखक डा. अमात्यले उल्लेख गर्नुभएको छ । यसले जहाँ जाँदा पनि आफूलाई आवश्यक सामान लिएरै जानुपर्ने शिक्षा दिएको छ । त्यहाँको ढुंगा, गिटी, सिपी बाहिरी मुलुकमा लान नपाइने कडा नियम रहेछ तर यहाँको कालीगण्डकीका शालिग्राम सिद्धिन लागेको उहाँको स्मरण बडो मार्मिक छ ।

त्यस्तै अस्ट्रेलियामा एक कार्यक्रममा जाँदा तोकिएकै समयमा कार्यक्रम भएको तर नेपालमा आफैंले सञ्चालन गरेको कार्यक्रममा पनि अतिथि⁄प्रमुख अतिथिलाई घण्टौं कुर्नुपरेको लेखकको तुलनात्मक अनुभव अत्यन्तै पठनीय छ ।

सरकारी उच्च होहदामा कार्य गरिसकेको मान्छे अस्ट्रेलिया जान भिसा एप्लाइका लागि प्रहरी प्रतिवेदनका निम्ति रानीपोखरीछेउको प्रहरी कार्यालयमा घण्टौं लाइनमा बस्दा उहाँलाई भएको हीनताबोधले पाठकलाई खिन्न बनाउँछ । यस्तै सानोठिमीस्थित तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट छोराको १२ कक्षाको मूल प्रमाणपत्र लिँदा पाएको हैरानी र त्यहाँका कर्मचारीले फोन होल्डमा राखी इन्गेज गराउने, फोन क्रेडिलमै नराख्ने गरेको कार्यसमेत उहाँका लागि स्मरणीय छन् ।

लेखकले अन्त्यमा भन्नुभएको छ– ‘म जागिरमा भैरहेको भए शायद मलाई यो कुराको अनुभव नै हुने थिएन होला ।’ पुस्तकमा समेटिएका उहाँका अनुभवहरूले केही हदसम्म भए पनि सरकार र कर्मचारीहरूलाई झकझक्याउने अपेक्षा गर्न सकिन्छ । एउटा उचाइमा पुगिसकेको मान्छेको पुस्तकको भाषासुद्धिमा चाहिँ खासै ख्याल गरिएको देखिएन । जे होस्, केही नमीठा, केही अपत्यारिला र केही आश्चर्यजनक प्रसंगहरू कोट्याएर नेपाली समाजलाई लेखकले राम्रै गुण लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्