मृगौला पीडिक किशोरलाई अमेरिकाबाट सहयोग प्राप्त



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङका एक मृगौला पीडित किशोरका लागि अमेरिकाबाट एक लाख बढीको सहयोग प्राप्त भएको छ । विभिन्न सञ्चारमाध्यममा उनको समस्याका बारेमा खबर प्रकाशन भएपछि उनलाई उक्त सहयोग जुटेको हो ।

लमजुङको नेटा गाविस– ३, थानसिङ नेटाका १४ बर्षीय सिजन खत्रीको उपचारका लागि अमेरिकाबाट सहयोग प्राप्त भएको हो । अमेरिकामा रहेका नेपालीहरूबाट संकलन गरी पठाइएको १ लाख २६ हजार ९ सय रुपैयाँलाई जिल्ला सदरमुकाम बेंसीशहरमा आयोजिक एक कार्यक्रममा सदस्य सांसद जमीन्द्रमान घलेले संकलित रकम मृगौलापीडित सिजन र उनकी आमा पुनमलाई हस्तान्तण गर्नु भयो ।

उक्त रकम लमजुङको मालिङ गाविस– ९, शैलुङ घर भई हाल अमेरिकाको न्युयोर्कमा रहनु भएका प्रेम गुरुङको संयोजकत्वमा संकलन गरिएको हो । गुरुङ चलचित्र ‘मैंरिमो’का नायक तथा निर्माता एवम् नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका सचिव समेत रहनुभएको गुरुङले पीडितका शुभचिन्तक ४७ जनासंग सो रकम संकलन गरी पठाउनुभएको जानकारीमा आएको छ ।

प्रेम गुरुङले कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङमार्फत सो रकम पठाउनु भएको हो । सोही अवसरमा लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङको तर्फबाट १० हजार रुपैयाँ पीडित परिवारलाई सांसद घलेले हस्तान्तरण गरिएको समितिका सदस्य एवं रेडियो मस्र्याङ्दीकी निर्देशक मीना गुरुङले बताउनुभयो ।

सांसद घले उक्त समितिका संरक्षक समेत हुनुहुन्छ । रकम हस्तान्तरण पछि सांसद घलेले डाइलसिस मात्रै नभएर सरकारले अन्य उपचार तथा औषधी पनि निःशुल्क गराउन सके पीडितलाई आर्थिक ब्ययभार कम पर्ने बताउँदै त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।

सहयोग रकम ग्रहण गर्दै मृगौलापीडित सिजनकी आमा पुनमले सहयोग दाताहरू सवैलाई धन्यवाद दिनुभयो । छोराको उपचारका लागि पुनमले ६ लाख रुपैयाँ बढी खर्च भै सकेको र अझै पनि करीब १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको पुनमले बताउनुभयो ।

सातामा २ पटक अनिबार्य डायलसिस गर्नु परेको बताउदै उहाँले आफ्ना एकमात्र छोरा सिजनलाई आफूले मृगौला दिन तयार भएको र परीक्षण जारी रहेको जानकारी दिनुभयो । सिजनका बाबा अर्जुनबहादुरको गतबर्षको फागुनमा ३८ बर्षको उमेरमा मृगौलाकै समस्याका कारणले निधन भएको उहाँले बताउनु भयो ।

विरामी सिजन बेंसीशहरको जनविकास माविको कक्षा ८ मा पढ्दै आएका छन् । गत साउनमा दुवै मृगौलाले काम नगर्ने समस्या देखिएपछि काठमाडौंको महारजगञ्जस्थित शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्