नेपालले विश्वकपमा न्युजिल्यान्डलाई हरायो



काठमाडौं, (नेस)
भारतमा जारी दोस्रो ब्लाइन्ड क्रिकेट विश्व कप टी २० प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ।

बिहीबार भएको खेलमा नेपालले न्युजिल्यान्डलाई १ सय ४१ रनले हराएको हो। यो नेपालको प्रतियोगितामा दोस्रो जित थियो। यसअघि नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो। साथै नेपालले जितसँगै प्रतियोगिताको अन्त्य पनि गरेको छ। १० टोलीको सहभागीता रहेको सो विश्व कपमा नेपालले सात खेलमा हार बेहारेको थियो। त्यस्तै आयोजक भारत, पाकिस्तान, बंगलादेश र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपालले सो अन्तिम खेलमा पदम बहादुरले कीर्तिमानी दोहोरो सतक प्रहार गरेका थिए। उनको २ सय ११ रनको सहयोगमा नेपालले ३ सय १६ रनको लक्ष्य न्युजिल्यान्डलाई दिएको थियो। नेपालका लागि उच्च स्कोर गरेका पदमले ९० बलको सामना गर्दा ३६ चौका प्रहार गरे। उनी नटआउट पनि रहेका थिए।

यस्तै नेपाली टोलीका लागि शोभाराम डाँगीले ३९ बलमा ४ चौकाको मद्दतमा नटआउट हुँदै ५३ रन बनाए। त्यस्तै नेपालले ५१ रन अतिरिक्तबाट प्राप्त गरेको थियो। जवाफमा न्युजिल्याण्डले १९.१ ओभरमा सबै विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो।

न्युजिल्याण्डका लागि ब्रेट विलसनले सर्र्वािधक ७२ रन बनाए भने म्याक कासकिलले २० रन जोडे। टोलीका ७ खेलाडीले दोहोरो अंक जोडेनन् भने ५ खेलाडी रनआउट भएका थिए। न्युजिल्याण्डलाई अलआउट गर्न नेपालका सुनिल सुवेदी क्षेत्रीले २ तथा बद्री चौलागाईं, विक्रमबहादुर राना र किर्तन श्रेष्ठ दुवालले १⁄१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्