गुनासो पेटिकामा माकुराको जालो हेल्लो सरकारमा गुनासा, अख्तियारमा उजुरी



नानीराम नेपाल
सिन्धुपाल्चोक
सेवाग्राहीका गुनासो सुनुवाइका निम्ति हरेक सरकारी कार्यालयमा उजुरी तथा गुनासो पेटिका झुण्डाइएका छन्। जनसाधारणका समस्या समाधान तथा गुनासाको सहज सुनुवाइका निम्ति सरकारी कार्यालयमा राखिएका पेटिकाहरू यतिबेला बेकामे बनिरहेका छन्।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सर्वसाधारणको पहुँच बढ्दै गएपछि सरकारी कार्यालयका गुनासो पेटिका बेकामे बनेका हुन्। कतै त गुनासो पेटिकामा लगाइएका ताल्चामा खिया नै लागिसकेको छ, कतै माकुराले जालो लगाएका छन्।
जिल्ला प्रशासन कार्यालयको ढोकैमा एउटा गुनासो पेटिका छ। पारदर्शी किसिमको उक्त गुनासो पेटिकामा लगाइएको ताल्चामा खिया लागेपछि प्रशासन कार्यालयले महिना दिनअघि खोलेको थियो। गुनासो तथा उजुरी पेटिकामा सेवाग्राहीको कुनै गुनासो नपरेपछि प्रशासन कार्यालयले गुनासो पेटिकामा ताल्चा लगाउनै छाडेको छ।

‘बरु सिधैं सीडीओ सापकोमा जान्छन्, गुनासो पेटिका त खाली नै हुन्छ’, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पीताम्बर पाण्डे भन्नुहुन्छ,– ‘सेवाग्राहीहरू तत्काल समाधान चाहन्छन्, गुनासो पेटिकामा खसालेर सुनुवाइ नै हुँदैन भन्ने मानसिकता छ।’ प्रविधिको विकाससँगै गुनासो तथा उजुरी दर्ता सहज रूपमा हुन थालेपछि गुनासो पेटिकाहरू बेकामे बनिरहेको उहाँ बताउनुहुन्छ।
विनाशकारी भूकम्पलगत्तै प्रिफ्याब भवनमा सरेको जिल्ला विकास समितिको कार्यालयमा राखिएको गुनासो पेटिकाको पनि हविगत उस्तै छ। डेढ वर्षसम्म जिविसको उक्त गुनासो पेटिकामा न कुनै उजुरी खस्यो न त कुनै गुनासो नै।

दैनिकजसो सेवाग्राहीको भीड लाग्ने गरे पनि डेढ वर्षसम्म गुनासो पेटिकामा कुनै कागज नखसेको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद नेपालले बताउनुभयो। ‘हेल्लो सरकारसम्म गुनासो पुग्छ, अख्तियारमा उजुरी पनि परिरहेको छ’, अधिकृत नेपालले भन्नुभयो,–‘तर यहाँ गुनासो पेटिकामा डेढ वर्षदेखि केही उजुरी र गुनासो आएन।’ विकासे योजनाहरूमा भ्रष्टाचार भएको भनी अख्तियारसम्म उजुरी पुग्ने गरेको र अख्तियारमार्फत नै जिविसले छानविन गर्ने गरेको पनि उहाँले सुनाउनुभयो।‘उपभोक्ता समिति गठनमा मनोमानी भयो भन्दै टेबुलमै उजुरी आउँछ, उजुरी पेटिकामा आउँदैन’, योजना अधिकृत नेपालले भन्नुभयो।

सोमबार जिल्ला शिक्षा कार्यालयमा पुग्दा कार्यालयको ढोकामै रहेको गुनासो पेटिका खुला नै थियो। माकुराले जालो लगाइसकेको गुनासो पेटिकाको साँचो नै हराएपछि शिक्षा कार्यालयले केही दिनअघि मात्र नयाँ गुनासो पेटिका राखेको थियो।

डेढ वर्षसम्म कार्यालयमा राखिएको उजुरी तथा गुनासो संकलन पेटिकामा एउटै गुनासा तथा उजुरी नखसेपछि जिल्ला शिक्षा कार्यालयले सेवाग्राहीको जानकारीका लागि फ्लेक्स प्रिन्ट नै गरेर राख्ने तयारी गरिरहेको छ। ‘पेटिकामा जालो लाग्छ, न उजुरी भेटिन्छ न गुनासो नै’, शिक्षा कार्यालयका सूचना अधिकारी अशोक पराजुलीले भन्नुभयो, ‘गुनासा संकलनका लागि अब एउटा फ्लेक्सबोर्ड नै बनाएर राख्ने तयारीमा छौं।’ फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल र अन्य विभिन्न विद्युतीय माध्यमबाट उजुरी तथा गुनासो गर्न सक्ने व्यवस्था भएपछि कार्यालयको गुनासो पेटिका बेकामे बनेको उहाँले बताउनुभयो।

सरकारी कार्यालयको गुनासो पेटिकामा माकुराले जालो लगाइरहँदा हेल्लो सरकार, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा जिल्लाबाट उजुरी र गुनासो पुग्ने गरेको पाइएको छ। फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल, इमेल र फोनमार्फत माथिल्लो निकायसम्म जिल्लाबाट उजुरी र गुनासो पुग्ने गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

सरकारी कार्यालयका गुनासा पेटिका भूकम्पपछि चौतारा नगरपालिका (साविकको कुबिण्डेस्थित सिरानचौर) मा खानेपानी समस्या भइरहँदा जिल्लास्थित सरोकारवाला निकायले चासो नदिएको भन्दै हेल्लो सरकारमा गुनासो पुग्यो।
प्रधानमन्त्री कार्यालयको टोल फ्रि नम्बरमा गुनासो पुगेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयलाई गुनासो सुनुवाइका लागि पत्र आएको थियो।

त्यस्तै सरकारी कार्यालय परिसरमै धुम्रपान भइरहेको गुनासो हेल्लो सरकारमा पुगेपछि प्रधानमन्त्री कार्यालयले तत्काल रोक लगाउन निर्देशन गरेको थियो। विभिन्न गाविसमा एकाघरका ४ जनासम्मले पुनर्निर्माण अनुदानको पहिलो किस्ता लिइरहेको भन्दै केही महिनाअघि चोकटी गाविसका एक जनाले अख्तियारमा बेनामे उजुरी नै दिएका थिए।

सामाजिक सञ्जालमार्फत जिल्लास्थित विभिन्न योजनाहरूमा अनियमितता भएकोदेखि उपभोक्ता समितिमा एकै परिवारका सदस्य रहेको भन्नुहुँदै अख्तियारसम्म उजुरी पुगेको जिविसका योजना अधिकृत नेपालले बताउनुभयो। ‘सामाजिक सञ्जालले सेवाग्राहीलाई सरकारसँगै जोडिदिएको छ’– उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्