सुदूरमा औषधि खरिदका लागि रकम निकासा



नेपाल समाचारपत्र
डोटी
स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौवटा जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि ६ करोड ८७ लाख निकासा गरेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थामा औषधि अभाव भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आएपछि मन्त्रालय रकम निकासा गरेको बताईएको छ।

स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका ९ वटै जिल्लाका जिल्ला जनस्वास्थ्य⁄स्वाथ्य र विभिन्न चार अस्पतालका लागि ६ करोड ८७ लाख औषधि खरिदका लागि रकम निकासा गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर सुशील प्याकुरेलले बताउनुभयो। उहाँले भन्नुभयो –‘औषधि खरिदका लागि रकम निकासा भइसकेको छ,अब चाँडै नै यहाँको औषधि अभाव हट्ने छ।‘सुदूरपश्चिममा औषधि खरिदका लागि सबैभन्दा बढी क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलमा रु ७० लाख निकासा भएको छ।’

सुदूरपश्चिमका डडेल्धुराको जोगबुढा र कैलालीको मालाखेती अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताललाई सामान किन्न रु दश लाख र अन्य औषधि किन्न पाँच⁄पाँच लाख गरी रु १५⁄१५ लाख निकासा गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

पहिलो चरणमा रु ६० लाख र दोस्रो चरणमा रु १० लाख गरी ७० लाख निकासा भएको हो। यसै गरी, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीमा रु ५५ लाख र १२ लाख गरी रु ६७ लाख, बैतडीमा ५० लाख र १० लाख गरी ६० लाख औषधि खरिदका लागि निकासा भएको छ।

त्यस्तै, कञ्चनपुरमा ४५ लाख र १२ लाख गरी ५७ लाख, अछाममा ४५ लाख र ११ लाख गरी ५६ लाख, डोटीमा ४५ लाख र ९ लाख गरी ५४ लाख, बझाङमा ४३ लाख र ९ लाख गरी ५२ लाख तथा डडेल्धुरामा रु ३५ लाख र रु १० लाख गरी रु ४५ लाख निकासा भएको छ।

बाजुरा र दार्चुलामा सामान ४० लाख र ८ लाख अन्य गरी ४८⁄४८ लाख निकासा भएको जनाइएको छ। स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालमा समेत औषधि खरिदका लागि सिधै रकम पठाएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी तेजविक्रम शाहीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्