अमेरिका चीनबीचको संघर्ष दुवै पक्षका लागि नोक्सानः चीन



सिड्नी, (एजेन्सी)
बेइजिङले डोनाल्ड ट्रम्प प्रशासनको आक्रामक टीकाटिप्पणीका कारण दक्षिण चीन सागरमा अमेरिकासँग हुन सक्ने संघर्षलाई ठूलो महत्त्व नदिएको आशयमा त्यसबाट दुवै पक्षलाई नोक्सान हुने जनाएको छ। चीनल दक्षिण पूर्वी एसियाली छिमेकीहरूको पनि दाबी रहेको प्राकृतिक स्रोतको धनी मानिएको करिब सम्पूर्ण क्षेत्रमा आफ्नो सम्प्रभुता दाबी गर्दै आइरहेको छ। चीनले यस क्षेत्रमा कृतिम टापु पनि निर्माण गरेका छन्। ती कृतिम द्वीपहरूलाई संघर्षको सम्भावित विन्दु मानिएका छन्।

ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसर र विदेशमन्त्री रेक्स टिलरसनको बयानले त्यहाँको स्थितिलाई थप तनाव उत्पन्न गराएको छ। चीनका विदेशमन्त्री वाङ यीले अस्ट्रेलिया भ्रमणका क्रममा युद्धले कसैलाई फाइदा नहुने बताए। वाङले समझदार राजनीतिज्ञले चीन र अमेरिकाबीच संघर्ष हुन नसक्ने प्रस्ट बुझेको बताएको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ। यसले दुवै पक्षलाई नोक्सान हुने उनले बताए।

गत महिना स्पाइसले दक्षिण चीन सागरमा अमेरिका आफ्नो हितको रक्षाका लागि प्रतिबद्ध रहेको बताएका थिए। त्यसै गरी ट्रम्पका विदेशमन्त्री टिलरसनले ती द्वीपसम्म चीनको पहँुचलाई रोक्न सक्ने बताएपछि ती दुई देशबीच सैन्य टकरावको सम्भावना बढेको छ। वाङले अमेरिका चीनबीचको सम्बन्धले दशकौंदेखि सबै प्रकारका चुनौती पार गरेको बताएको एबीसीले जनाएको छ।

दक्षिण चीन सागरमा चीनले दाबी गरेको जल क्षेत्रमा त्यस क्षेत्रका देशहरू भियतनाम, फिलिपिन्स, मलेसिया, ताइवानले पनि आ–आफनो हिस्सा दाबी गर्दै आइरहेको छ। तेल तथा ग्यासको विशाल भण्डार रहेको उक्त सागरमा चीनले आफ्नो पकड मजबुत बनाउन सैन्य गतिविधिलाई पनि तीव्र पार्दै लगेको छ।

प्रतिक्रिया दिनुहोस्