सोमालियाका पूर्वप्रधानमन्त्री राष्ट्रपतिमा निर्वाचित



मोगादिसु, (एजेन्सी)
सोमालियाका पूर्वप्रधानमन्त्री मोहम्मद अब्दुल्लाही फरमाजो बुधबार सोमालियाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। वर्तमान राष्ट्रपति हसन सेख मोहम्मदसँग भएको दोस्रो चरणसम्मको मतदानपछि उनी निर्वाचित भएको सोमालियाको निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणको मतदानमा फरमाजोले १ सय ८४ मत ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी मोहम्मदले ९७ मत ल्याएका थिए। तेस्रो उम्मेदवारको रूपमा प्रतिस्पर्धारत सरिफ सेख अहमदले भने ४५ मत मात्रै पाएका छन्। मोहम्मदले आफ्नो पराजय औपचारिक रूपमा स्वीकारिसकेका छन्।

नवनिर्वाचित राष्ट्रपति फरमाजो सन् २००९ देखि २०१० सम्म सोमालियाको प्रधानमन्त्री रहेका थिए। उनले आफूलाई निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। फरमाजोले अमेरिकाको राहदानी बोकेका छन्। उनले स्टेट युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीतिशास्त्रबाट स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनले विगतमा विश्वविद्यालयमा प्राध्यापकको हैसियतले अध्यापनसमेत गरेका थिए।

त्यसको साथै उनले न्युयोर्क राज्य, बफेलो नगरपालिकालगायतका अन्य विभिन्न निकायहरूमा पनि काम गरेका थिए। फरमाजोले सन् २०११ मा प्रधानमन्त्रीबाट हटेपछि सोमाली जस्टिस एन्ड इक्वालिटी पार्टी नामका नयाँ पार्टी खोलेका थिए। यस चुनावलाई लिएर राजनीतिक विश्लेषकहरूले सोमालियाको इतिहासमै पहिलोपटक निकै प्रजातान्त्रिक पद्दतिको थालनी भएको प्रतिक्रिया दिएका छन्।
उनका समर्थकहरूले उनको चुनावी विजयपछि सडकमा आएर खुसीयाली मनाएका छन्। मोगादिसुमा जन्मेका नवनिर्वाचित राष्ट्रपति फरमाजाओ असीको दशकमा संयुक्त राज्य अमेरिकामा सोमाली विदेश मन्त्रालयका लागि काम गरेका थिए।

त्यसपछि आफू र आफ्नो परिवारका लागि अमेरिकामा शरण लिएका उनले दोहारे नागरिकता प्राप्त गरेका थिए। उनले विश्वकै सबैभन्दा गरिब र राजनीतिक अस्थिर राष्ट्रहरूमध्ये एक सोमालियामा आफूले गर्नुपर्ने थुप्रै महत्त्वपूर्ण काम बाँकी रहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्