कर्मचारीले एक घण्टा काम ठप्प पारे



हेटौंडा,(नेस) । मकवानपुरका स्थानीय निकायमा बिहीबार एक घण्टा काम ठप्प पारिएको छ । जिल्ला विकास समिति, हेटांैडा उपमहानगरपालिका, थाहा नगरपालिका, ३५ वटै गाविस कार्यालयमा एक घण्टा काम ठप्प पारिएको हो ।

स्थानीय निकायका कर्मचारीले विभिन्न माग राख्दै विहान १० बजेदेखि ११ बजेसम्म काम ठप्प पारेका थिए । आफ्ना सबै काम रोक्दै स्थानीय निकायका कार्यालयअगाडि कर्मचारीले धर्ना दिएका थिए । स्थानीय निकाय टे«ड युनियन जिल्ला समन्वय समिति मकवानपुरको आह्वानमा उनीहरुले आन्दोलनका कार्यक्रमअन्तर्गत् धर्ना दिएर काम अवरुद्ध गरिएको हो ।

काम अवरुद्ध गर्दा सेवाग्राही एक घण्टा पर्खन बाध्य भए । आफ्ना मागहरु पूरा गर्न सरकार लचिलो नभएसम्म चरणवद्ध आन्दोलन जारी रहने स्थानीय निकाय कर्मचारी संघ अध्यक्ष रामकृष्ण थापाले बताए ।

कर्मचारीको आन्दोलनअनुसार शुक्रबार मकवानपुरका सबै स्थानीय निकायका कार्यालयमा तीन घण्टा सेवा ठप्प पारेर धर्ना दिइने थापाले बताए । मकवानपुरका स्थानीय निकायका कर्मचारीले हातमा कालोपट्टी बाँधेर विरोध गरेका छन् ।
स्थानीय निकाय कर्मचारीले तत्काल स्थानीय चुनाव गर्नुपर्ने, आवश्यक जनशक्ति ब्यवस्था गर्नुपर्ने, स्थानीय निकायमा बीसौं वर्षदेखि कार्यरत् अस्थायी तथा करार कर्मचारीको जीवन रक्षाका लागि सेवालाई निरन्तरता दिइनुपर्नेलगायत मागहरु राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्