डुङ्गा पल्टीँदा तेह्र जना बेपत्ता



कालालाम्पुर (मलेसिया), २६ माघ । मलेसियाको सबाह प्रदेशको पूर्वीक्षेत्रमा पर्ने समुद्रमा डुङ्गा पल्टीँदा १३ जना बेपत्ता भएका छन् ।

बुधबार भएको दुर्घटनामा परी हराएकाको खोजी कार्य भइरहेको स्थानीय सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

मलेसियाको सामुद्रीक व्यापारसम्बन्धी निकायले स्थानीय समयअनुसार बेलुका ६ बजेतिर दुर्घटना भएको जनाएको छ ।

जीवित हुन सफल भएका दुई जनाका अनुसार डुङ्गामा अरू १३ जना रहेका थिए । हराएकाको अहिलेसम्म पनि पहिचान हुन सकेको छैन । उनीहरू इन्डोनेसियाका व्यक्ति हुनसक्ने मलेसियाको सामुद्रीक व्यापारसम्बन्धी निकायका क्षेत्रीय निर्देशक मोहद जुबीलले बताउनुभयो ।

उहाँले घटना भएको थाहा पाउने बित्तिकै उद्धारमा लाग्न सुरक्षाकर्मी तथा उद्धारकर्मीहरूलाई लगाइएको जानकारी दिनुभयो ।

उद्धार कार्य अहिले पनि चुनौतीपूर्ण रहेको र २४ घण्टापछि मात्रै यसबारेमा केही भन्न सकिने उहाँले बताउनुभयो ।

पछिल्लो समयको यो दोस्रो ठूलो डुङ्गा दुर्घटना हो । यसअघि गत जनवरी २८ मा २८ जना चिनियाँ पर्यटक चढेको डुङ्गा कोटा किनाबालुमा पर्ने समुद्रमा पल्टेको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्