एनआईसी एसिया बैंकका कारण शेयर बजारमा त्रासः नेप्सेले स्पष्टीकरण सोध्यो



नेपाल समाचारपत्र
काठमाडौं
आम लगानीकर्तालाई त्रसित पार्ने गरी धितोपत्र कारोबारसम्बन्धी विद्यमान ऐन नियमविपरीत बोलपत्रमार्फत् शेयर बिक्री गर्न खोजेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनआईसी एसिया बैंकसँग बुधबार स्पष्टीकरण मागेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको शेयर लिलाममार्फत् बिक्री गर्न सूचना प्रकाशित गरेलगत्तै नेप्सेले बैंकसँग स्पष्टीकरण सोधेको हो ।

नेप्सेद्वारा बैंकको शेयर बिक्री सम्बन्धी स्पष्टीकरणका बारेमा जारी विज्ञप्तिमा भनिएको छ–‘बैंकको स्वामित्वमा रहेको म्युचुअल फन्ड तथा शेयरको बिक्री बोलपत्र आह्वानसम्बन्धी तीन दिने सार्वजनिक सूचना प्रकाशित गरेको सन्दर्भमा उक्त सूचना धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली २०५५ को विनियम १८ प्रतिकूल देखिएको हुँदा सो सम्बन्धमा के भएको हो सो को जानकारी अविलम्ब उपलब्ध गराउन नेप्सेले निर्देशन दिएको छ ।’

बैंकले बुधबार आठ वटा म्युचुल फन्डमा बैंकको स्वामित्वमा रहेको २ करोड २१ लाख ११ हजार ४८० इकाई र नेसनल लाइफ इन्स्योरेन्सको ६५ हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भन्दै सूचना प्रकाशित गरेको थियो । लिलाममा मार्फत् बिक्री गर्न खजिएका म्युचुअल फन्डमध्ये लक्ष्मी भ्यालु फन्ड–१ को २ लाख ४३ हजार ५१ इकाई, एनआईबीएल समृद्धि फन्ड–१ को ५८ लाख ४६ हजार ८१०, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को ३५ लाख २० हजार ६१९, इकाई रहेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ–१ को २ लाख ४८ हजार २ सय, सिद्धार्थ इक्विटी ओरेन्टेड स्किमको ५६ लाख ७५ हजार ६०७, ग्लोबल आईएमई समुन्नत स्किम–१ को ३७ लाख ६७ हजार २६८, एनएमबी हाईब्रिड फन्ड–१ को १२ लाख ६१ हजार ९०१ र नबिल इक्विटी फन्डको ८ लाख ६८ हजार ४ इकाई रहेको छ ।

शेयर बजारमा लगातार गिरावट आइरहेको बेला एनआईसी एसिया बैंकले एकैपटक नियमविरीत लिलाममा शेयर बिक्री गर्न खोजेपछि लगानीकर्ताहरू त्रास उत्पन्न भएको शेयर विश्लेषकहरूको भनाइ छ । बजारमा तरलता लगानीयोग्य पुँजीको अभाव जारी रहेको र शेयर बजार पनि निरन्तर ओरालो लागेको अवस्थामा बैंकले यतिधेरै शेयर बिक्री गर्न खोज्नुको कारण भने खुलाएको छैन ।

हालको बजार मूल्य अनुसार बैंकले बिक्री गर्न खोजेको नेसनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १६५० भन्दा माथि रहेको छ भने म्युचुल फन्डमा बैंकको प्रति इकाई १० रुपियाँभन्दा माथिमा कारोबार हुँदै आएको छ । साढे १६ सयको दरमा ६५ हजार कित्ता र १० रुपियाँको दरले २ करोड २१ लाख ११ हजार ४८० इकाई शेयर बिक्रीबाट आउने करिब एक सय ३० करोड रुपियाँ कुन प्रयोजनका लागि आपूर्ति गर्न लागिको त्यो खुल्न नसकेपछि बैंक शंकाको घेरमा परेको हो ।

स्रोतका अनुसार बैंकको कर्जा र निक्षेपबीचको अन्तर अर्थात सीसीडी रेसियो सीमाभन्दा धेरै भएको हुनाले नेपाल राष्ट्र बैंंकको कारबाहीबाट बच्न बैंकले आफ्नो स्वामित्वमा रहेको ठूलो परिमाणमा शेयर बिक्री गरेको हुन सक्ने बताइएको छ । बैंकले प्रयोजनसमेत नखुलाई धितोपत्र कारोबारसँग सम्बन्धी नियमविपरित गएर शेयर बिक्री गर्न खोज्नुलाई बैंकको वित्तीय स्वस्थतासँग जोडेर पनि हेर्न थालिएको छ । बैंकले किन यति ठूलो परिमाणमा शेयर बिक्री गर्न खोज्यो भन्ने विषयमा विषयमा बैंकका उच्च अधिकारीसँग सम्पर्क खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्