राप्रपाको आसन्न एकता महाधिवेशन: तीन जनामा कसले मार्ला बाजी ?



७२ जिल्ला अधिवेशन सम्पन्न, क्षेत्रीय अधिवेशन बाँकी भएकाले धनुषा, काभ्रे र बाँके जिल्लाका अधिवेशन निर्धारित समयमा हुन सकेन।

रामकृष्ण चापागाईं, काठमाडौं
मुलुकमा चौथो राजनीतिक शक्तिका रूपमा रहेको राप्रपाले कार्यतालिकाअनुसार निर्धारित समयमै एकता महाधिवेशन सम्पन्न गर्ने गरी तयारीलाई तीव्रता दिएको छ।

पार्टी एकीकरणपछि राप्रपाले फागुन ६ देखि ९ सम्म काठमाडौंमा महाधिवेशन गर्दै छ।
केन्द्रीय महाधिवेशनको तयारी स्वरूप राप्रपाले निर्धारित मितिमै दुई दिनअघि मंगलबार एकैसाथ जिल्ला अधिवेशनअघि बढाएकामा बुधबार साँझसम्म ६२ जिल्लाको नतिजा प्राप्त भइसकेको राप्रपा केन्द्रीय कार्यालयका कर्ण माझीले जानकारी दिनुभएको छ।

उहाँका अनुसार धनुषा, काभ्रे र बारामा जिल्ला अधिवेशन हुन सकेन। यी जिल्लाका केही क्षेत्रमा क्षेत्रीय अधिवेशन बाँकी भएकाले निर्धारित समयमा जिल्ला अधिवेशन शुरु हुन नसकेको हो। बाँकी रहेका जिल्ला अधिवेशन आइतबार हुने बताइएको छ।
महाधिवेशनको तयारी स्वरूप राप्रपाले यसअघि मंसिर २५ देखि २९ गतेसम्म देशभर साधारण सदस्यता वितरण गरेको थियो भने माघ ७ देखि १५ गतेसम्म गाउँनगर अधिवेशन सम्पन्न गरेको थियो।

माघ २१ गते एकै दिन २ सय ४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्ने लक्ष्य राखेको राप्रपाले केही क्षेत्रमा अधिवेशन गर्न सकेको थिएन। राप्रपाले सबै जिल्लाको अधिवेशन माघ २५ गते एकै दिन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो। राप्रपाले पार्टी एकीकरण भएपछि तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै नेता तथा कार्यकर्ताले नयाँ सदस्यता अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरेको छ।

राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र समृद्ध हिन्दूराष्ट्र निर्माण गर्ने मूल लक्ष्यका साथ
कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपाल र पशुपति शमशेर जबराको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी मंसिर ६ गते एकीकरण भएका थिए। संवैधानिक राजतन्त्रलाई आत्मसाथ गरेको राप्रपा नेपाल र गणतन्त्रलाई आत्मसाथ गरेको राप्रपाबीच हिन्दू राष्ट्र निर्माणमा भने दुवै पार्टी एकमत भएका हुन्। पार्टी एकीकरणपछि व्यवस्थापिका संसद्मा राप्रपाको ३७ सदस्य भएका छन्।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार महाधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट दुई जना महिलासहित समानुपातिक हिसाबले ९ जनाको दरले २ हजार १ सय ६० जना प्रतिनिधि आउनेछन् भने प्रत्येक जिल्ला कार्यसमितिबाट ९ जनाको दरले ६ सय ७५ जना प्रतिनिधि आउने छन्। महाधिवेशनमा प्रतिनिधिका रूपमा भ्रातृ संगठनबाट चार जनाको दरले सहभागी हुनेछन्। राप्रपाको २० वटा भ्रातृ संगठन रहेका छन्। सहप्रवक्ता श्रेष्ठका अनुसार फागुनको २ गतेसम्म केन्द्रीय निर्वाचन समितिमा सबै महाधिवेशन प्रतिनिधिको नामावली आइसक्नेछ। एकता महाधिवेशनमा महिला प्रतिनिधिको संख्या ८ सय ३५ जना हुने बताइएको छ।

महाधिवेशनका लागि अध्यक्ष कमल थापाको अध्यक्षतामा ५ सय १ मूल आयोजक समिति गठन गरिएको छ। साथै महाधिवेशन सम्पन्न गर्न विभिन्न ११ वटा उपसमितिहरू पनि गठन गरिएको छ। मूल आयोजक समितिमा राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा. प्रकाशचन्द्र लोहनीसहितका नेताहरू छन्। समितिको सदस्य सचिवमा पार्टीका महामन्त्रीद्वय टंक ढकाल र विक्रम पाण्डे रहेका छन्। एकता महाधिवेशन मूल आयोजक समितिको सदस्यहरूमा पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्यहरू, सांसदहरू, पार्टी जनवर्गीय संगठनका सभापतिहरू तथा बागमती अञ्चलका जिल्ला अध्यक्षहरू छन्।

महाधिवेशन भव्यरूपमा सम्पन्न गर्न उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा आर्थिक समिति, उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा मञ्च तथा बैठकस्थल व्यवस्थापन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आमसभा व्यवस्थापन समिति, उपाध्यक्ष हरिनारायण यादवको संयोजकत्वमा भोजन व्यवस्थापन समिति र उपाध्यक्ष प्रतिभा राणाको संयोजकत्वमा स्वागत समिति पनि गठन भइसकेको छ।

महाधिवेशनका लागि महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा विदेशी अतिथि स्वागत तथा व्यवस्थापन समिति, महामन्त्री टंक ढकालको संयोजकत्वमा कार्यक्रम तथा व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र लिंदेनको संयोजकत्वमा प्रचारप्रसार समिति, महामन्त्री विक्रम पाण्डेको संयोजकत्वमा स्वयंसेवक समिति, महामन्त्री डा. धवलशमशेर राणाको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम समिति र महामन्त्री नरेन्द्र चौधरीको संयोजकत्वमा झाकी व्यवस्थापन समिति पनि गठन गरिसकेको छ। एकीकृत पार्टीका लागि कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच टक्कर देखिने अवस्था रहेको सो पार्टीका नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्