आर्मी अन्तिम चारमा



गोकुल घोरासाइने, बारा ।

त्रिभूवन आर्मी क्लब वीरगन्ज युनाईटेड क्लबलाई ३/० को फराकिलो अन्तरले हराउदै सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

आर्मीको जितसंगै प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भयो । यसअघि साविक बिजेता बिजय युथ क्लब, सिएमजी संकटा क्लब र हिमालयन शेर्पा क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । आर्मीले सेमिफाईनल खेलमा हिमालयन शेर्पासंग प्रतिस्पर्धा गर्ने छ ।

छैठौं संस्करणको बिजेता आर्मीलाई जित दिलाउने क्रममा बालकृष्ण श्रेष्ठ, सन्तोष तामाङ र दिपक गुरुङले एक÷एक गोल गरे । वीरगन्जविरुद्ध शुरुदेखि नै हाबी देखिएको आर्मीले खेलको १६ मिनेटमा बालकृष्णको गोलबाट अग्रता लिएको थियो । नवयुग श्रेष्ठले मिलाएको पासलाई सदुपयोग गर्दै बालकृष्णले गोल गरेका हुन् । आक्रामक खेल देखाएको आर्मीले पहिलो हाफको ईन्जुरी समयमा दोस्रो गोल गरेर अग्रता दोब्बर पार्दा वीरगन्जले भने कुनै अवसर बनाउन सकेन । दुई मिनेटको ईन्जुरी समयमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेल २–० को स्थितिमा पु¥याएका थिए ।

दुई गोलले पछि परेपछि निकै दवाव खेपेको वीगन्जको प्रदर्शन निकै कमजोर देखियो । वीरगन्जका खेलाडीबिच तालमेलको अभाव देखियो । उपाधी कै दाबेदारको रुपमा हेरिएको आर्मीले दोस्रो हाफमा पनि उस्तै तालमेल देखाउदै तेस्रो गोल थप्यो । खेलको ५५ मिनेटमा बालकृष्णले मिलाएको पासमा दिपक गुरुङले गोल गर्दै आर्मीको जित सुनिश्चित पारेका थिए ।

त्यसअघि आर्मीका गोलरक्षक बिकेश कुथु गम्भिर घाईते हुदै मैदानबाट बाहिरिन पुगे । बल नियन्त्रणमा लिने क्रममा खेलाडीसंग ठोक्कीएपछि कुथु घाईते भएका हुन् । टाउकोमा चोट लागेका कुथुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । उनको स्थानमा सुनिल श्रीवास्तवले पोष्ट सम्हालेका थिए । दोस्रो हाफको खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको आर्मीले गोल गर्ने केही अवसर भने चुकाएका थिए ।

प्रतिक्रिया दिनुहोस्