अरुका लागि…



नेपालको राजनीति तरल अवस्थामा रहेको बेलामा अहिले कसैले कुनै धारणा राख्यो भने उसलाई पारीको सिता खाएको होला भनेर आरोप लगाउने गरेको पनि पाइएको छ । कसैलाई छिमेकी मुलुक भारत वा कसैलाई अर्को छिमेकी चीनको मान्छे भन्ने गरिएको धरहराले देखेको छ ।

कसैलाई त डलर खाने अमेरिकाको र कसैलाई युरो खाने युरोपको कुनै देश वा समग्रमा युरोपियन युनियनको भन्ने गरेको पनि देखिन्छ । भन्ने कुरा त छँदैछ कतिले त म फलानो देशको आधिकारिक मान्छे हुँ भनेर समेत सगौरव भन्ने गरेका छन् । उनीहरु त्यहाँको सरकारकै तर्फबाट बोलुँला जस्तो पनि गर्छन् ।

उनीहरुसँग त्यस देशको हुँ भन्ने प्रमाण के छ भनेर सोद्धै नसोधी विश्वास गर्नेले पनि गरिहाल्छौं । यसरी फाइदा लुट्ने मुलुकमा धेरै देखिएको धरहराले पनि पाएको छ । कोही ग्रेट वाल चढेको फोटो देखाएर फाइदा लुट्न तल्लिन छन् भने कोही दिल्ली गेटमा मुस्कुराएको तस्वीर देखाएर बार्गेनिङ्ग गर्ने काम गरिरहेको पनि देखिन्छ ।

होइन नेपालको लागि काम गर्छु भन्नेको पो झन् महत्व हुनुपर्ने, होइन र ? त्यो भने धरहराले देख्न पाएको छैन । अरुका लागि काम गर्नेवालाको नै यहाँ बोलवाला देखिएको छ । के भएको होला है पाठकबृन्द ? कुन दिन तिनले भन्न बेर छैन—‘आफ्नो लागि त सबैले काम गरिहाल्छन् नि । अरुको लागि त काम गर्ने हो नि ।’ रमाइलो छैन त पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्