ट्रम्पको आदेश सही भएको मन्त्रालयको ठहर



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको न्यायमन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका प्रवेश निषेध सही भएको उल्लेख गर्दै अदालतलाई राष्ट्रिय हितका लागि त्यसलाई पुनः लागू गर्न आग्रह गरेको छ।

मन्त्रालयले अदालतमा आफ्नो औपचारिक आग्रहमा उक्त प्रतिबन्ध लगाउनु राष्ट्रपतिको अधिकार क्षेत्रमा पर्ने उल्लेख गर्दै एउटा अदालतले त्यसको पालनामाथि रोक लगाउनु गलत हुने बताइएको छ।

सानफ्रान्सिस्को स्थित एउटा संघीय अदालतले उक्त यात्रा निषेधमाथि मंगलबार सुनवाइ हुने जनाएको छ। अमेरिकाका दुई राज्य वासिङ्टन र मिनेसोटाले उक्त निषेध लागू भएमा अव्यवस्था फैलिने जनाएको छ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले जनवरी २५ मा एउटा कार्यकारी आदेश जारी गर्दै सातवटा मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका आउन अस्थायी रोक लगाएका थिए।

फेब्रुअरी ३ मा वासिङ्टन राज्यका एक जना संघीय न्यायाधीशले ट्रम्पको उक्त आदेश पालनामा रोक लगाउँदै उक्त कदम असंवैधानिक र राष्ट्रहितका लागि नोक्सान दिने भएको बताएका थिए।

अमेरिका यात्रामाथि रोक लागेका सातवटा देश इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमन हुन्।
यसैबीच अमेरिकाका सबैभन्दा ठूला प्रविधि कम्पनी एप्पल, फेसबुक र गुगलसहित ९७ वटा कम्पनीले अमेरिकी राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धविरुद्ध सामूहिक कानुनी चुनौती दिएका छन्।

ती कम्पनीहरूले उक्त प्रतिबन्धबाट उनीहरूको व्यापारमा ठूलो नोक्सान हुने बताएका छन्। सानफ्रान्सिस्कोको एउटा अदालतले सात मुस्लिम राष्ट्रका नागरिकमाथि लगाइएको उक्त प्रतिबन्धले ती कम्पनीलाई प्रतिभाशाली कामदार खोज्न कठिन हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्