जापनमा रहेका बाबुले आफ्नो बच्चा भनी अस्विकार गर्दा बालकको न्वारन भएन



दुर्गाप्रसाद शर्मा, पर्वत ।

हिन्दु संस्कारअनुसार शिशु जन्मेको ११ दिनमा न्वारन गरी नाम राख्ने परम्परा छ । तर, यहाँ जन्मेको डेढ बर्ष भन्दा बढी हुँदा समेत एक बालकको न्वारन हुन सकेको छैन । बालकको बुबाले स्वीकार नगर्दा बागलुङ जिल्लाको मल्म–७ का प्रतिक्षा पुन थापाले जन्माएको बालकको न्वारन हुन नसकेको हो ।

बच्चा जन्माएको १९ महिना बितिसक्दा समेत जापानमा रहेका श्रीमान धनबहादुर थापाले स्वीकार नगर्दा छोराको न्वारन गर्न समेत नपाएको प्रतिक्षाले बताइन । ‘आफ्नै श्रीमानले बेइमानी गर्दा छोराको न्वारन गर्न पाएकी छैन’ न्यायको खोजीमा बागलुङ सदरमुकाममा भेटिएकी उनले भनिन्–‘चिनेजानेकाले छोराको नाम के हो भनेर सोध्छन्, जवाफ दिन सकेकी छैन ।’

पाण्डवखानी–३ माइत भएकी प्रतिक्षा मल्मको एक स्थानीय विद्यालयमा काम गर्दै आएकी थिइन । धनबहादुर थापाको घरमा उनकी आमा एक्लै बस्ने गरेको र उनकी आमाको आग्रहमा प्रतिक्षा पनि धनबहादुरकै आमासँगै बस्दै आएकी थिइन । धनबहादुर परिवारसहित जापानमा थिए । ०७१ सालको दशैं तिहार मनाउन घर आएका धनबहादुरले आफ्नो आमासँगै घरमा भाडामा बस्दै आएकी प्रतिक्षालाई नजर लगाउन थाले ।

चाडपर्व मनाउन पाण्डबखानी गएकी प्रतिक्षा दशैं तिहार सकिएपछि मल्म फर्किइन । घरमा धनबहादुर, उनकी आमा र प्रतिक्षा बस्दै आएका थिए । धनबहादुरले विभिन्न प्रलोभनमा पारेर प्रतिक्षासँग प्रेम गर्न थाले । डेढमहिनाभन्दा बढी उनीहरुबिच शारिरिक सम्बन्ध समेत रहन गयो । ‘धनबहादुरले तिमिलाई छुट्टै घर बनाएर राख्छु भनेर प्रलोभनमा पारे, मैले विश्वास गरेर शारिरिक सम्बन्धसमेत राखे’ उनले भनिन् ।

डेढमहिनासंगको प्रेमपछि धनबहादुर थापा जापान फर्किए । जापानबाट थापाले प्रतिक्षालाई फोन गर्ने, पैसा पठाउने गर्न थाले । दुई महिनापछि प्रतिक्षाले धनबहादुरलाई आफु गर्भवति भएको जानकारी गराइन । धनबहादुरले पनि स्वीकार्दै चिन्ता नलिन आग्रह गरे । उनले चैतसम्मको विभिन्न अवधिमा प्रतिक्षालाई जापानबाटै निरन्तर पैसा पठाइरहे । तर चैतमा प्रतिक्षा गर्भवति भएको धनबहादुरकी आमाले थाहा पाइन । त्यसपछि उनले घरबाट प्रतिक्षालाई निकाला गरिन् ।

आफूलाई धनबहादुरले विभिन्न प्रलोभनमा पार्दासम्म खुशी भएकी प्रतिक्षालाई थापाकी आमाले घरबाट निकालेपछि प्रतिक्षाका दुःख र पीडाका दिन सुरु भए । ‘छोराले आमालाई ठाउँमा ल्याएर मलाई ब्यवस्थापन गरी राख्लान् भन्ने सोचेकी थिए तर आमाले घरबाट निकालेपछि धनबहादुर सम्पर्कमै आउन छाडे’ प्रतिक्षाले भनिन्–‘श्रीमति स्वीकार्ने कुरा त होइन आफै सम्पर्क गर्दा तलाई जति पैसा खर्च गरेर भएपनि स्वीकार्दिन भनेर धम्की दिन थाले ।’

गाउँमा रहेका महिला संघसंस्था, आमा समुहको पहलका बाबजुद पनि धनबहादुरकी आमाले प्रतिक्षालाई घर छिर्न दिइनन् । प्रतिक्षा त्यसपछि माइतीको शरणमा पुगिन् । अन्ततः उनले १८ साउन २०७२ मा छोराको जन्म दिइन् । छोरा जन्मेको १८ महिना बितेपनि धनबहादुरले अहिले स्वीकार गरेका छैनन् । धनबहादुरले जति पैसा खर्च भएपनि प्रतिक्षा र छोरालाई नस्वीकार्ने बताउँदै आएका छन् ।

आफ्नो बच्चा नै नभएको दाबी गर्न थालेपछि विभिन्न महिला अधिकारकर्मी, महिला तथा बालबालिका कार्यालयको पहलमा अल्पकालिन सेवा केन्द्र बागलुङको सहयोगमा जिल्ला कानुनी सहायता समिति बागलु«ङमार्फत उनले बागलुङ जिल्ला अदालतमा नाता कायम गरी छोराको न्वारन गराइदिन र धनबहादुरको सम्पत्तिमध्ये आफु र छोरालाई अंश माग गर्दै मुद्दा दायर गरिन् । उनको दायर मुद्दामाथि बागलुङ जिल्ला अदालतले प्रतिक्षा र बच्चाको पक्षमा फैसला गर्दै नाता कायम गरी न्वारन गराउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले धनबहादुरलाई प्रतिक्षासँगको नाता कायम गरी प्रतिक्षाबाट जन्मेको छोराको न्वारन गराउने फैसला गरेका हुन । त्यस्तै अंशसम्बन्धी अर्को मुद्दामा बादी र प्रतिबादीको नाममा जति सम्पत्ति छ फाँटबारी पेश गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत बागलुङका श्रेष्तेदार रामबहादुर थापाले अदालतले प्रतिक्षाको धनबहादुरसँग नाता कायम हुने ठहर भएको जानकारी दिए ।

फैसला भएपनि धनबहादुर पक्षले उच्च अदालतमा जाने बताउन थालेका छन् । धनबहादुरले डिएनए परिक्षण नगरी आफुले बच्चा नस्वीकार्ने बताउदै आएका छन् । उनी केही समयअघि जिल्ला अदालतमा बयानका लागि जापानबाट आएका थिए । बयानपछि जापान फर्केका धनबहादुर अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

बागलुङबजारमा छोरासँगै भेटिएकी प्रतिक्षाले धनबहादुरले आफ्नो शरिर लुटेर आफूलाई पीडा दिएको गुनासो गरिन् । ‘पहिले त उसले जापानमा विवाह गरेको थाहा नै भएन, पछि समय घर्किसकेको थियो, मलाई छुट्टै घर बनाएर राख्छु भनेर फकाएपछि मानेकी हुँ ।’ उनले भनिन्–‘अहिले यतिसम्म दुःख दिन खोजेको रहेछ ।’ उनले आफु ०७१ चैतमा घर निकालिएदेखि नै समस्यामा परेको बताइन ।

‘माइतीमा जसोतसो बसेकी छु, अदालती काम, बयानलगायत कामका लागि सदरमुकाम बागलुङबजार आउँदा जाँदा ठुलो रकम खर्च भइसकेको छ’ उनले भनिन्–‘अब पनि कतिन्जेलसम्म दुःख पाइने हो ?’ उनले धनबहादुरको प्रलोभनमा परेर आफू फसिएको बताइन् । ‘जति दुःख पाएपनि न्याय पाउने आश बोकेर हिँडेकी छु’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्