खानेपानी समस्या: पानी बोक्न दिनहुँ डेढ घण्टा



दुर्गाप्रसाद शर्मा, पर्वत ।
पानीको स्रोत नजिक नहुँदा यहाँको रानीपानी ५ इमिचौरका बासिन्दा डेढ घण्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् । गाउँका करिव दुई दर्जन परिवारको दैनिकी तीन वर्षयता पानी बोक्दैमा बित्नेगरेको छ ।

२०६७ सालमा पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजनाले निर्माण गरेको लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि स्थानीयलाई पिउने पानीकै लागि दैनिक घण्टौं समय खर्चिनुपरेको हो । ‘दुई वर्षसम्म राम्रै संग चलेको थियो,’ स्थानीय मायाँ श्रेष्ठले भनिन्, ‘त्यसपछि पुरानै दुःख फर्किए । कसैले खानेपानी माग्यो भने पनि लाजै लाग्छ ।’

इमिचौर मात्रै नभएर गाविसको मुख्य बस्ती रहेको नेपाने, पस्यार, पुर्तिडाँडा, बिहादी लगायतका गाउँहरुमा खानेपानीको चरम समस्या छ । पानी अभावकै कारण कहिलेकाहिं स्कुले विद्यँर्थीहरु समयमा विद्यँलय जान पाउँदैनन् । ‘पहिला भएका मुलहरु पनि भूकम्पपछि सुके,’ स्थानीय धनसरा पौडेलले भनिन्, ‘अहिले पानीकै लागि रुन सकिएको छैन ।’ गाउँका अधिकांस युवा गाउँ बाहिर छन् । गाउँमा महिला र केटाकेटी मात्रै भएका कारण पानी बोक्ने मान्छेको अभावले पनि बढी समस्या सृजना हुने स्थानीयले बताए ।

जिल्लामा खानेपानी तथा सरसफाई परियोजना सञ्चालन गरेको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाले रानीपानीमा मात्रै २१ वटा खानेपानी आयोजना सञ्चालन गरेको छ । तर, स्थानीयले पिउने पानीकै लागि दैनिक आधा समय खर्चन बाध्य छन् । ‘पहिलो चरणमै बनेका १६ योजना छन्,’ परियोजनाका फिल्ड संयोजक देवराज पुरीले भने, ‘अहिले चारवटा निर्माणाधिन र एउटा निर्माणको चरणमा छन् ।’ आयोजनाले दुइवटा पुराना योजना मर्मतको तयारी गरेको उनले बताए ।

रानीपानीमा खानेपानीको समस्या पुरानै भए पनि ७२ को भूकम्पयता अझ जटिल बनेको स्थानीय राजकुमार श्रेष्ठले बताए । पहिला चैतपछि असार सम्म मात्रै समस्या हुन्थ्यो,’ उनले भने, ‘अहिले पुष नलाग्दै पानीका मुल सुक्न थाले ।’ खानेपानीका नया“ आयोजना निर्माण गर्ने पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजनाले सम्पन्न गरेका आयोजनाहरु पनि निर्माणको केही समयमै बिग्रिएपछि स्थानीयलाई पिउने पानीको समस्या चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्