६ महिनामा ८१ हजार पत्र



मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक
जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकमा चालु वर्षको ६ महिनामा ८१ हजार पत्र आयात भएका छन् । केहि वर्ष अघिसम्म यो संंख्या मासिक हुने गरेको थियो ।

चालु वर्षको ६ महिनामा जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकमा जिल्ला भित्रबाट ८१ हजार १ सय ७१ पत्र प्राप्त भएका छन् । राजनीतिक दलहरुले कार्यकर्ता भर्ति केन्द्र बनाउँदै आएको हुलाकको माग विस्तारै घट्दै गए पनि सरकारले हुलाकलाई अन्य जिम्मेवारी थप नगर्दा जनविश्वास समेत खस्कँदै गएको छ ।

प्रविधिको विकाससँगै खस्किएको पत्र आदान प्रदानको माध्यम विस्तारै ओरालो लागेको छ । अत्यन्तै जरुरी र कागजात नै आवश्यक भएको बाहेक अन्य विषयमा टेलिफोन, मोवाईलमा प्रयोग हुने विभिन्न खालका इन्टरनेटका माध्यमहरुले चिठ्ठी आदान प्रदान घटेको हो । दैनिक एक लाख भन्दा वढी पत्रहरुको कारोवार हुने जिल्ला हुला कार्यालयमा अहिले मुस्किलले बर्षमा एक लाखको हाराहारीमा कारोवार हुने गरेको जिल्ला हुला कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख पदमबहादुर खत्रीले जानकारी दिए

हुलाक कार्यालयमा चालु वर्षमा जिल्लाबाटै उत्पादन भएका ८१ हजार पत्रहरु मध्ये साधारण पत्र जिल्ला भित्रबाटै ६० हजार १ सय ७१, रजिस्टेशन दर्ता ४ हजार, अन्य जिल्लाबाट प्राप्त २० हजार, रजिस्टरी ३ हजार, विदेशबाट १ हजार, रजिस्टरी ५० वटा भएका छन् ।

आयात तर्फ ८१ हजार १ सय ७१, रजिस्टरी ७ हजार ५० भएका छन् । गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोक जिल्लामा उत्पादन भएका ६० हजार १ सय ७१, अन्य जिल्लाबाट प्राप्त ९० हजार, विदेशबाट आयात १ हजार, रजिस्टरी जिल्लाबाट २१ वटा, अन्य जिल्लाबाट प्राप्त रजिस्टरी ६ हजार ९ सय ३८, विदेशबाट २७ र पत्रपत्रिका एक हजार प्राप्त भए ।

त्यस्तै निर्यात तर्फ साधारण चिठ्ठी जिल्लामै ५० हजार १ सय ७१, अन्य जिल्लाबाट १ लाख १० हजार, विदेशबाट १ हजार, रजिस्टरी जिल्लामै वितरीत ५ हजार, अन्य जिल्लामा ७ हजार ९ सय ८६, सिधै विदेशमा एक सयवटा रहेका छन् । त्यस्तै साना प्याकेट तर्फ साधारण २० जिल्लामै, अन्य जिल्लामा चार र सामान्य पत्रपत्रिका ९ सय वटा निर्यात भएका छन् भने अन्य जिल्लामा एक सय वटा निर्यात भएका छन् ।

सरकारले सर्वसाधारणका लागि सूचनाको हक सम्वन्धी कानुन निर्माण गरी कार्यान्वनका लागि हरेक कार्यालयहरुमा सूचना अधिकारीको ब्यवस्था गरी हरेक तीन तीन महिनामा कार्यालयले प्रदान गरेको सेवा सूविधा र प्रगतिका बारेमा राष्ट्रिय सूचना आयोगले तोकेको जिल्ला हुलाक कार्यालयमा बुझाउने पर्ने भए पनि जिल्लामा रहेका अधिकांश कार्यालयहरुले त्यस्तो विवरण बुझाएका छैनन ।

पाँचखालमा रहेको मसलाबाली विकास केन्द्र बाहेक अन्य ४५ वटा सरकारी कार्यालयले जिल्ला हुलाक कार्यालयमा उक्त खालको विवरण र सूचना नदिएको जिल्ला हुलाक कार्यालय काभ्रेका सुब्बा बालकृष्ण केसीले जानकारी दिए । कुनै समय अधिकांश कार्यालय र ब्यक्तिहरुको सूचना आदान प्रदानको महत्वपूर्ण कार्यालयका रुपमा चिनिदै आएको जिल्ला हुलाक कार्यालयलाई अहिले प्रविधिको विकाससँगै महत्व दिन छाडिएको छ ।

सरकारी कार्यालयहरुमा पनि हुलाक कार्यालयलाई भने कम पहुँच र सुविधाका हिसावले लिने गरिएको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख सदस्य सचिव रहने गरी जिल्लाका अधिकांश कार्यालयका सूचना अधिकारीको संयन्त्र तथा सूचना जिल्ला हुलाकलाई बुझाउनु पर्ने गरी राष्ट्रिय सूचना आयोगले ब्यवस्था गरे पनि कार्यालयहरुले नटेरेका हुन् । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले देशभरका सबै सरकारी कार्यालयहरुमा सूचना अधिकारी तोक्ने निर्देशन दिए लगत्तै जिल्लाका सबै कार्यालयहरुमा सूचना अधिकारी तोक्ने, सूचना अधिकारीको नाम, फोटो र नम्वर सबैले देख्ने गरी राख्न लगाएका थिए । अहिले सूचना अधिकारी नभए पनि नाम र नम्वर कार्यालयहरुमा झुण्डिएको देख्न सकिन्छ ।

तर कर्मचारीहरुको सरुवाका कारण कार्यालको सूचना सूचना अधिकारीलाई नै नहुने गरेको गुनासो आउन थालेको छ । अझ कार्यालय प्रमुखहरुले सूचनाहरु खटाएर मात्रै दिने गरेकाले सूचना अधिकारी, सूचना आयोगको निर्देशन अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्