अस्ट्रेलियाका ७ प्रतिशत क्याथोलिक पादरी बाल यौन दुराचारी



क्यानबेरा, (एजेन्सी)
अस्ट्रेलियामा एउटा अध्ययनका क्रममा देशका ७ प्रतिशत क्याथोलिक पादरी बालबालिकाको यौन शोषणमा लिप्त रहेको पाइएको छ।

उक्त अध्ययन १९५० देखि २०१० को बीचमा गरिएको हो। त्यसै गरी अर्को एउटा अध्ययनमा देशका करिब ४० प्रतिशत चर्चमा बच्चामाथि यौन शोषण हुने गरेको पाइएको छ। बालबालिकाको यौन शोषणको मामिलामा निगरानी राख्दै आइरहेको रोयल कमिसनमा सन् १९८० देखि २०१५ को बीच करिब ४ हजार ५ सय नागरिकले यौन शोषण भएको उजुरी गरेका थिए।

यो कमिसन अस्ट्रेलियामा धार्मिक तथा गैरधार्मिक स्थानमा हुने यौन शोषणको निगरानी गर्ने सबैभन्दा ठूलो संस्था हो। सिड्नीमा कमिसनलाई मद्दत गर्ने वकिल गेल फरनेसका अनुसार यौन शोषणबाट पीडितहरूको कहानी अत्यन्त दुःखद छ।

गेले भनिन्– ‘बच्चाहरूलाई उपेक्षा गरियो, उनीहरूलाई सजाय पनि दिए। आरोपको जाँच भएन। पादरी र धार्मिक गुरू सजिलै बचे। ती चर्चलाई ती पादरीहरूका बारेमा केही पनि थाहा छैन।’

गेलले सन् १९८० देखि २०१५ को बीचमा अस्ट्रेलियाका १ हजार क्याथोलिक संस्थामा ४ हजार ४ सय ४४ बालबालिकाको यौन उत्पीडन भएको बताइन्। ती बच्चामा केटीहरूको औसत आयु १० दशमलव ५ वर्ष र केटाहरूको ११ दशमलव ५ वर्ष रहेको छ। तर, प्रत्यक घटनाको रिपोर्ट दर्ता गर्नमा औसत ३३ वर्ष समय लाग्नु चिन्ताको विषय भएको जनाइएको छ।

अस्ट्रेलियामा रोयल कमिसनको स्थापना सन् २०१३ मा भएको थियो। यो स्कुल, खेलकुद, क्लब र धार्मिक संस्थाहरूमा हुने यौन उत्पीडनका घटनाहरूको छानविन गर्न बनाइएको हो।

प्रतिक्रिया दिनुहोस्