मध्यराति एसिड छ्यापेर प्रेमिकाको हत्या



  • विवाहको निहुँमा भएको थियो झगडा।

 

  • केटो विवाहित रहेको थाहा पाएपछि युवतीको अर्कै केटासँग विवाह हुन लागेको थियो।

यमलाल भुसाल, बुटवल ।
विवाहसम्बन्धी कुरा नमिल्दा रूपन्देहीमा एक प्रेमीले आफ्नै प्रेमिकालाई मध्यरातमा एसिड प्रहार गरेर हत्या गरेका छन्। आइतबार राति बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटलको कोठा नम्बर १०३ मा बास बस्न गएका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट–५ की २७ वर्षीया तुलसा सोपकोटालाई एसिड प्रहार गर्दा उपचारका क्रममा उनको मृत्यु भएको छ।

आइतबार राति पौने १२ बजेतिर होटलमा बास बस्न गएका प्रेमी–प्रेमिका मदिरा सेवन गरी सुतेको र सुतेको केही समयपछि झग्डा शुरु भएपछि कोइरालाले एसिड प्रहार गर्दा सापकोटा गम्भीर घाइते भएको प्रहरीले बताएको छ।

एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी सापकोटाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुन नसकी भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

सापकोटाको शव आफन्तले बुझेका छन् भने एसिड प्रहार गर्ने कोइरालालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको बताएको छ।

रूपन्देहीका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रवीन्द्र धानुकका अनुसार प्रेममा रहेका उनीबीच विवाहसम्बन्धी कुरामा खटपट हुँदा एसिड छर्किएको कोइरालाको प्रारम्भिक बयानबाट बुझिएको छ।

होटलमा रक्सी खाएर सुतेका उनीहरूबीच राति पौने १ बजेतिर झग्डा शुरू भएको र सोही क्रममा कोइरालाले सापकोटालाई एसिड प्रहार गरेको प्रहरीको प्ररारम्भिक अनुसन्धानले देखाएको छ।

३ वर्षअघि कुवेतमा भेट भएको र उनीहरूबीच यसअघि नै शारीरिक सम्बन्धको हदसम्म प्रेम पुगेको थियो। केटीको अर्कै पुरुषसँग विवाह हुने निश्चित भएकाले यो घटना भएको प्रहरीले जनाएको छ।

केटो विवाहित भएको र केटी कुमारी भएकाले दुई जनाबीच मनमुटाव भएको देखिएको प्रहरीको बुझाइ रहेको छ। होटलमा तुलसाले सँगै आफ्नी सानी आमालाई समेत लिएर आएको र सानी आमा अर्कै कोठामा सुतेकोे अवस्थामा घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धानुकले बताए।

प्रतिक्रिया दिनुहोस्