विकासमा एकताको सन्देश



हेटौंडा,(नेस) । मकवानपुरका सांसद्हरुले विकास कार्यमा एकताको सन्देश दिएका छन् । यसबाट स्थानीयको चाहना पूरा हुने अवस्थामा पुगेको हो ।

लामो समय लागे पनि सांसद्हरुको सकारात्मक पहलले उक्त कार्य सम्भव हुने भएको छ । हेटौंडा उपमहानगरसँग सीमा जोडिएको हाँडीखोमामा पक्की पुल निर्माण कार्यमा सांसद्हरुले विकासमा दिएको एकताको सन्देश यस क्षेत्रमा चर्चाको विषय बनेको छ ।

पक्की पुल अभावमा हाँडीखोलाका पशुपालक तथा किसान पलायन हुने क्रम बढेको भन्दै स्थानीयले राज्य मन्त्री इन्द्र बानियाँ, सांसद्हरु महालक्ष्मी उपाध्याय डीना, राजाराम स्यांतान, अनन्त पौडेल, गणेश थापा र रामनारायण बिडारीको ध्यानाकर्षण गराएका थिए ।

केही समयअघि हाँडीखोला–५, गैरीचोकस्थित नमूना कृषक बहुमुखी सहकारी संस्थाले राप्तीखोलामा पक्की पुल निर्माणको माग गर्दै मकवानपुरका सांसद्हरुको ध्यानाकर्षण गराएको हो । मकवानपुरका सांसद्हरुको सामूहिक पहलमा पुलको योजना स्वीकृत भएको हो ।

करिब एक साताअघि भौतिक योजना मन्त्री रमेश लेखकले हाँडीखोला–५ को भुन्दुुङ र हेटौंडा–२९ को बस्तीपुरबीच राप्तीखोलामा पुल निर्माण गर्ने योजना स्वीकृत भएको बताएपछि हाँडीखोलाबासी खुशी भएका छन् ।

हा“डीखोलाका किसानले उत्पादन वर्षायाममा बजार पु¥याउन समस्या भएको भन्दै पक्की पुल निर्माणको माग गरेका थिए । हाँडीखोला–५ बाट मात्र दैनिक १२ क्यान दूध संकलन हुने गरेको र प्रतिक्यान भरियाबापत एक सय ६० खर्च हुने गरेको नमूना सहकारीका पूर्वअध्यक्ष गोपालप्रसाद आचार्यले बताए ।

गाडीमा ढुवानी गर्दा मासिक १० हजार रुपियाँमा हुने काम भरिया लगाएर ढुवानी गर्नुपर्दा मासिक झण्डै ६० हजार खर्च भइरहेको आचार्यले गुनासो गरे ।

उक्त क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारी काउली, बन्दा, बरेला, सिमी, बोडी, काँक्रो र भण्टालगायत उत्पादन हुने गरेको छ । बेमौसमी तरकारी दैनिक एक सय मेट्रिक टनसम्म उत्पादन हुने गरेको आचार्यले बताए ।

कुखुरापालक किसानले उत्पादन गरेको अण्डा तथा मासु वर्षायाममा राप्तीमा बाढी आउँदा हेटौंडा र अन्य बजार लैजान समस्या भएको आचार्यले बताए । राप्तीखोलामा पानीको सतह घटेको समयमा खोलाबाट ढुवानी गर्न सकिए पनि असारदेखि असोजसम्म राप्तीपारिका किसानले उत्पादन गरेका सामान बजार लैजान समस्या भएकाले पक्कीपुल आवश्यक भएको आचार्यले बताए ।

पुलका लागि चालु आर्थिक वर्षमा २० लाख रुपिया“ बिनियोजन गरिएको जानकारी मन्त्री लेखकले दिएको आचार्यको भनाइ छ । डिभिजन सडक कार्यालय हेटौंडाले केही दिनमा बोलपत्र आह्वान गर्ने तयारी गरेको आचार्यले जानकारी दिए । १७० मिटर लम्बाई रहने पुल दुईतर्फी भारी सवारी आवागमन गर्नसक्ने गरी निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्