खेतीयोग्य जमिन मास्दै ईटाभट्टा



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।
तरकारी र अन्य कृषि उत्पादनमा प्रमुख योगदान पु¥याउँदै आएको काभ्रे जिल्लाकै उर्वराभूमि मण्डनभेग र यस आसपासका अन्य गाविसहरुमा अहिले खेतीयोग्य जमिन मासिदै ईंटा पार्ने कार्यले गति लिएको छ ।

भूकम्पले ९५ प्रतिशत भन्दा धेरै घर क्षति भएको यसभेगमा निर्माण सामाग्रिको अभाव भएको र पाइए पनि महंगो भएका कारण यसरी आफैंले ईंटा पारेर घर बनाउनेहरुको संख्या यहाँ धेरै छ । त्यसैले मंशिरमा धान काटेर जमिन बाँझै राखेर त्यहाँकै माटो झिक्दै अहिले ईंटा बनाउनेहरु वढ्दै गएका छन् । यसरी ईंटा बनाउँदा त्यहाँ कृषि उत्पादन भने घटेको छ ।

‘पहिले बास नै प्रमुख रहेछ , अनि मात्र खानेकुराको चिन्ता जस्तो लागेर खेतमा ईंटा बनाउन लागेका हौं ।’ चण्डेनीमण्डन स्थित आँपचौरका केशव माझी भन्छन् –“एउटा घर बनाउने र्इंटा करिव २ लाख रुपैयाँको लाग्छ । आफैंले बनाउने हो भने १ लाख जति खर्चमा ३० हजार वटा ईंटा बनाउन सकिने रहेछ । त्यसैले यहाँ धेरै जसोले जमिन बाँझो राख्दै ईंटा बनाउने गरेका छन् ।” अहिले एउटा ईंटाकै १५ रुपैयाँ भन्दा धेरै पर्ने भएकाले यसो गर्नु परेको उनले बताए ।

आफ्नै प्रयोगका लागि त छँदै छ , वढी भयो भने महंगोमा बेच्न पनि पाइने भएपछि यसरी ईंटा पार्नेहरुको संख्या बढेको जोगिटारका स्थानिय ऋषिराम नेपालले बताए । यस प्रतिनिधी उनको गाउँ पुग्दा ऋषिरामका बुबाछोरा नै ईंटा पार्ने काममा लागिरहेका थिए । आँपचौर, माइटार , हलेदेटार, जोगिटार र कुन्तावेसि लगायतका स्थानमा यतिबेला धेरैजसो खेतीयोग्य जमिन बाँझै राख्दै ईंटा बनाएर व्यवसाय नै चलाउनेहरु बढेको नेपालले जानकारी दिए ।

उनको अनुमानमा यसभेगमा १ सय भन्दा धेरै ईंटा भट्टाहरु बनिसकेका छन् । परम्परागत खेती गरेर आउने आम्दानी भन्दा ईंटा पारेर आउने आम्दानी ३ गुणाले वढी छ । त्यसैले पनि यसरी जमिन मासेर ईंटा बनाउनेहरुको संख्या वढेको स्थानियवासिहरु बताउँछन् । कतिपयले त जमिन भाडामा दिने र ईंटा बनाएर व्यापार गर्ने गरेको पनि पाइएको छ ।

अहिले यसभेगमा घर बनाउने प्रतिष्पर्धा चलेको छ । कसले कस्तो घर बनाउँछ , कस्ता घर बनाउँदा कति खर्च लाग्छ र के गर्दा धेरै फाइदा हुन्छ भनेर मानिसहरु जग्गा जमिनको संरक्षण भन्दा पनि घर बनाउने प्रतिश्पर्धामा लागेको पाइन्छ । जसले क्षणिकरुपमा केहि फाइदा त पुग्ला तर दीर्घकालिन रुपमा यसले सन्ततीहरुलाई समस्या पर्न सक्छ । धुर्मुश सुन्तली फाउन्डेशनका इञ्जिनियर अर्जुन न्यौपाने भन्छन्, “बलियो घर बनाउन ईंटा नै चाहिन्छ भन्ने छैन ।

गाउँघर र खोलातिर पाइने ढुङ्गाहरुको प्रयोग गरेरै पनि राम्रो र बलियो घर बनाउन सकिन्छ । त्यसैले प्रतिश्पर्धात्मक रुपमा भइरहेको ईंटाको प्रयोग रोकेर जमिन बचाउनतिर लाग्ने हो भने भविष्यमा पछुताउने दिन आउँदैन ।” जुन ठाउँमा ईंटाको विकल्प छैन , त्यहाँ त चाहियो नै तर ईंटाको विकल्प भएको ठाउँमा जमिन जोगाउन उनको भूकम्पपीडितहरुलाई सुझाव छ ।

खेती गर्ने मलिलो माटो जति ईंटामा सकिन्छ । जमिनको सतह भन्दा तलको माटोमा उत्पादन राम्रो हुँदैन । त्यस्तै माटो बनाउन अरु ५० वर्ष लाग्छ । त्यसैले यहाँबाट उत्पादन घट्ने निश्चित छ । तर पनि स्थानियहरुले ईंटा बनाउनु नै अहिलेको फाइदा देखेका छन् । घर बनाउने अन्य विकल्प पनि नभएकाले आफूहरुले यसरी खेतीयोग्य जमिनको नोक्सान गर्नु परेको स्वयं पीडितहरुले स्विकार गरेका छन् ।

भूकम्पपीडितहरुको साझा गुनासो छ, “कि सरकारले विकल्प देओस अन्यथा हामीले नचाहेरै पनि जमिन मास्नु परेको छ । हाम्रो बाध्यता कसले बुझ्ने खै ?” खेतमा ईंटा पार्न थालिएपछि यसभेगबाट हुने कृषि उत्पादनमा २० प्रतिशतले कमी आइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्