ट्रम्प नीतिको प्रभाव



विश्वको शक्तिशाली मुलुक अमेरिकामा रहेका विदेशी नागरिकहरू यति बेला तनावमा छन् । हालै सम्पन्न अमेरिकाको निर्वाचनमा रिपब्लिक पार्टीका तर्फबाट निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकहरूप्रति कठोर नीति लिएपछि अहिले अमेरिकामा बस्दै आएका नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकहरू अब के हुने हो भन्ने तनावले ग्रस्त भएको समाचार बाहिर आएको छ ।

आप्रवासी नागरिकप्रति कठोर देखिएका राष्ट्रपति ट्रम्पको नीतिका कारण अमेरिका छोडेर आउने योजना बनाएकाहरू पनि फेरि अमेरिका फर्कन सक्ने हो कि होइन भनेर आफ्नो योजना रद्ध गरी अमेरिकामा नै रहन बाध्य भएका छन् ।
राष्ट्रपति ट्रम्पले कठोर नीति लिएपछि केही अमेरिकनहरूसमेत अहिले आप्रवासीहरूप्रति आक्रामक देखिनु चिन्ताको विषय भएको छ । उनीहरूले विषेश गरी मुस्लिम नागरिकप्रति गरेको व्यवहार डरलाग्दो अवस्थामा रहेको छ ।

विश्वका ७ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्धले संसारभर चर्चा पाएको छ । आप्रवासीहरूले भरिएको अमेरिकामा अहिले आएर जुन प्रकारको नीति लिइएको छ यसले अमेरिकालाई त दीर्घकालीनरूपमा असर पार्छ नै, त्यसको मारमा अन्य देशका नागरिकसमेत पर्नु चिन्ता र संसयको विषय बन्न पुगेको छ ।

विश्वभर राष्ट्रवादी नारा उठाउनेहरू सत्ताको बागडोर सम्हाल्न पुगेका छन् । यसको अर्थ विदेशी नागरिकमाथि अमानवीय व्यवहार गर्नुचाहिँ मानवअधिकारको विश्वब्यापी मान्यता विपरीत हो । अहिले वैधानिकरूपमा अमेरिका बसेकाहरूसमेत अमेरिका छोडेपछि फेरि अमेरिका छिर्न नपाइने हो कि भन्ने चिन्ताले जस्तोसुकै अवस्था भए पनि अमेरिका छोड्न सकिरहेका छैनन् । अहिले नेपालीहरू राष्ट्रपति ट्रम्पको नीतिको शिकार भएर के हो, के हो भन्ने अवस्थामा पुग्नुले उनीहरूलाई गर या मरको अवस्थामा पु¥याइदिएको छ ।

एउटै देशमा पनि नागरिकलाई दुई कित्तामा बाँडेर व्यवहार गर्ने नीति राष्ट्रपति ट्रम्पले लिएपछि अमेरिकामा नै विद्रोह नहोला भन्न सकिन्न । मुलुक जतिसुकै सम्पन्न भए पनि जनता शासन व्यवस्थाविरुद्ध उत्रिए भने यसले अमेरिकालाई अप्ठ्यारोमा पार्न नसक्ला भन्न सकिन्न । राष्ट्रपति ट्रम्पको विदेशी नागरिकप्रतिको अनुदारताका कारण अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीलाई कलेजहरूले अमेरिका नछोड्नसमेत आग्रह गर्नुले त्यहाँको अवस्था कुन तहमा पुगेको रहेछ भन्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्