बल्ल शुरु भयो बाली बीमा



हेटौंडा, (नेस)
सरकारले २०६९ सालमा बाली बीमाको प्रावधान ल्याए पनि मकवानपुरमा भने भर्खर बाली बीमा शुरुआत भएको छ। बाली क्षति भएर किसानले लाखौं नोक्सानी भोग्नु नपरोस् र किसानलाई कृषि क्षेत्रमा निरन्तरता दिन कृषि विकास कार्यालय मकवानपुरले बीमा कार्यक्रमलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ।

मकवानपुरमा तोरी बालीको बीमाबाट बाली बीमा सुरु भएको बाली विकास अधिकृत रचना देवले जानकारी दिनुभयो। हटियाका डिल्लीप्रसाद पराजुलीले १५ कठ्ठाको तोरीको बीमा गर्नुभएको उहाँले बताउनुभयो। मकवानपुरका लागि आधिकारिक बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले बाली बीमा गरेको बताइएको छ।

किसानले बाली बीमाबारे किसानलाई जानकारी नभएका कारण मकवानपुरमा कार्यक्रम सञ्चालन हुन सकेको थिएन। किसान र प्राविधिकको फारामका आधारमा बीमा प्रक्रिया अगाडि बढाइन्छ। यसमा कम्पनीले पनि बालीको निरीक्षण गर्नसक्छ।
मकवानपुरको सन्दर्भमा कम्पनीले बाली लगाएको एक हप्तादेखि १५ दिनभित्र बीमा गर्न भनेको उहाँले बताउनुभयो।

उहाँका अनुसार बीमा गरिसकेपछि विभिन्न प्राकृतिक प्रकोप तथा रोगका कारण बाली नष्ट हुने अवस्थामा कम्पनीले लागतको ९० प्रतिशत रकम किसानलाई उपलब्ध गराउँछ। उहाँले थप्नुभयो– ‘५ प्रतिशत बीमा शुल्कमा ७५ प्रतिशत रकम सरकारले किसानलाई अनुदानस्वरुप उपलब्ध गराएको छ। किसानले प्रिमियमको २५ प्रतिशत रकम कम्पनीलाई बुझाउनुपर्छ।’

बीमा गर्न कम्तिमा १ कठ्ठा क्षेत्रफलमा खेती गरिएको हुनुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो। बाली बीमाका विषयमा जिल्ला कृषि विकास कार्यालय मकवानपुरले पटकपटक किसानलाई परामर्श दिँदै आएको छ। कार्यालयले बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत जिल्लाको सय हेक्टर क्षेत्रफलमा चैते धान खेती बिस्तार गर्ने लक्ष्य लिएको छ।

हेटौंडा उपमहानगरपालिकासहित आमभञ्ज्याङ, मकवानपुर गढी, छतिवन, फापरबारी, राईगाउँ, नामटार, मनहरी र हाँडीखोला गाविसका किसानका लागि कार्यक्रम ल्याइएको कार्यालयले उल्लेख गरेको छ। इच्छुक किसानले अनिवार्यरुपमा बाली बीमा गर्नुपर्ने व्यवस्था छ। यसले पनि जिल्लामा बाली बीमालाई प्रोत्साहन गर्न सहयोग पुग्ने कार्यालयले उल्लेख
गरेको छ।

प्रतिक्रिया दिनुहोस्