जलविद्युत्मा ३ अर्बको प्रतिबद्धता



नेपाल समाचारपत्र
काठमाडौं
ऊर्जा मन्त्रालयले उज्यालो नेपाल अभियानअन्तर्गत शुरू गरेको नेपालको पानी जनताको लगानी कार्यक्रममा हालसम्म ३ अर्ब ३ करोड ३१ लाख ११ हजार रुपियाँ लगानीको प्रतिबद्धता सर्वसाधारणबाट आएको ऊर्जा मन्त्रालयले जनाएको छ।

ऊर्जा मन्त्रालयका अनुसार हालसम्म अनलाइनमार्फत् व्यक्तिगततर्फ २७ हजार ३५४ जनाले २ अर्ब ८८ करोड ९ लाख ३६ हजार तथा कम्पनीका तर्फबाट १ अर्ब ५२ करोड १७ लाख ५ हजार रकमको प्रतिबद्धता आएको छ।

यसैबीच ऊर्जामन्त्री जनार्दन शर्माले अहिले हामीले विद्युत् कम खपत गरौं भनेर सार्वजनिक सूचना गरिरहेका छौं तर अबको तीन वर्षपछि बिजुली बढीभन्दा बढी खर्च गरौं भनेर सार्वजनिक आह्वान गर्नुपर्ने बताउनुभएको छ। झापाको घैलाडुबामा नेपाल विद्युत प्राधिकरणको सबस्टेशन शिलान्यास गर्दै मन्त्री शर्माले यो धारणा राख्नुभएको हो।

मन्त्री शर्माले धेरैभन्दा धेरै बिजुली खपत गर्ने उद्योगधन्दा खोल्नतिर लाग्नु सुझाव दिँदै विद्युत् उत्पादन र प्रसारणको क्षेत्रमा एकीकृत योजनाअनुसार काम नहुँदा ढिलाई भएको बताउनुभयो। उहाँले अबदेखि विद्युत्स“ग जोडिएका वन मन्त्रालय, भूमिसुधार मन्त्रालय र ऊर्जा मन्त्रालयबीच एकीकृत योजना बनाएर अघि बढ्ने गरी नीति बनाउन लागिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्