बगरमा तरकारी ढपक्कै



विमल विष्ट, डोटी
सुदूरपूर्वी जिल्ला इलामको कमलजेउडाका जीवन लामाले सुदूरपश्चिमको डोटी जिल्लामा आएर कृषि खेती र जडीबुटीको खेतीको शुरुआत गर्नुभएको छ। दिपायलमा रहेको दिल्पेश्वर मठभित्र रहेको खाली जमिनमा उहा“ले तरकारी तथा जडीबुटी खेतीको शुरुआत गर्नु भएको हो।

लामाको तरकारी खेतीले पछिल्लो समय मठको मुहारनै फेरिन थालेको छ। लामाले उक्त मठको बाँझो जमिनमा काउली, टमाटर, भिन्टी, रायो, करेला च्याउ, लैका, काँक्रो, गाँजर, सलगम लगायतका विभिन्न खाले तरकारी र चिराइतो, हलचुर, कुरिलो नामका जडी बुटीको खेती गरेर उदाहरणीय काम देखाएका छन्। लामाले तरकारी तथा जडीबुटी खेती गरेपछि उक्त जमिन अहिले हरियाली भएको स्थानीय विकास नाथले बताउनुभयो।

उहाँले भन्नुभयो–‘पहिला यो जमिन सुख्खा र बाँझो थियो, अहिले लामा जीले हरियाली बनाई दिए, जमिननै मनोरम देखिन थालेको छ।’ अहिले लामाको बारीमा तरकारी किन्नेको भिड लाग्ने गरेको छ। परिश्रम गरे बालुवा पनि खेती हुन्छ भन्ने उदाहरण दिनुभएको छ लामाले। वर्षेनी रोजगारीका लागि भारत पस्दै आएका डोटेलीलाई काम गर्न सके घरैमा पैसा भएको उदाहरण समेत उहाँको तरकारी तथा जडीबुटी खेतीले दिएको छ।

तरकारी किन्ने तथा जडीबुटी खेती हेर्नेको भीडले दिपायल मठमा पछिल्लो समय निकै चहल पहल बढेको मठका पुजारी मुरलीनाथ योगीले बताउनुभयो। उहाँले भन्नुभयो–‘सुख्खा जमिनमा खेती गरेको हेर्न मान्छे आउँछन् कोही तरकारी किन्न आउँछन्, साँझ विहान मठ चहल पहल बढेको छ।’ यतिमात्र नभई लामाले इलाममा समेत चिया बगान खोलेका छन्।

कृषि पेसामा आफूलाई निकै रुचिरहेको बताउँदै लामाले भन्नुभयो–‘ मैले १४ वर्ष चिया बगंैचामा खेती गरेँ, यहाँका स्थानीयले मलाई सहयोग गरे डोटीलाई पनि म इलामको चिया बगैंचा जस्तै हरियाली बनाएर छोड्छु।’ कामका लागि मलेसिया, कतार तथा साउदी अरबमा ७ सात वर्ष पसिना बगाएका लामा अर्काको देशमा पसिना चुहाउनुभन्दा आफनै देशमा केही गर्नुपर्छ भन्ने उद्धेश्यका साथ दिपायल आएका हुन्। लामाको उदाहरणीय काम देखेर दिपायलका स्थानीयबासी पनि उहाँप्रति निकै खुशी भएका छन्।

प्रतिक्रिया दिनुहोस्