माओवादी विद्रोहीसँगको बार्ता अन्त्य



मिनिला,(एजेन्सी)
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आइतवार फिलिपिन्समा विद्रोह गरिरहेको माओवादी विद्रोहीसँगको शान्ति बार्ता अन्त्य गरेका छन् ।

माओवादी विद्रोहीहरुले शान्ति बार्ता अन्त्य भएको घोषणा गरेको केहीदिनपछि राष्ट्रपति डुटेर्टेले पनि सरकारको तर्फबाट बार्ता अन्त्य भएको औपचारिक घोषणा गरेका हुन् । फिलिपिन्समा लामो समयदेखि भएको रक्तपातपूर्ण द्वन्द्वलाई अन्त्य गर्ने उद्देश्यले केही समयअघि सरकार र माओवादी विद्रोहीकाबीचमा शान्ति बार्ता सुरुभएको थियो ।

शनिबार साँझ डुटेर्टे भनेका छन् , ‘ मैले हाम्रा सिपाइहरुलाई लामो युद्धको तयारी गर्न भनिसकेको छु, हाम्रो पुस्ता रहने बेलासम्म यहाँ शान्ति स्थापना नहुने भएको छ । ’

गत अगस्तमा दुवै पक्षले छुट्टाछुट्टै आ–आफ्नै तरिकाले युद्धविरामको घोषणा गरेका थिए । युद्धविरामपछि रोममा लामो समयसम्म लगातार शान्ति बार्ता जारी रहेको थियो ।

सरकारीतर्फबाट युद्धविराम अन्त्य भएको घोषणा गर्नेक्रममा राष्ट्रपति डुटेर्टेले पत्रकारसँग भनेका छन् , ‘ म ती विद्रोही माओवादीका नेतासँग बार्ता गर्न इच्छुक छैन, अव म कुनैपनि विषयमा तिनीहरुसँग कुराकानी गर्न तयार छैन । ’

‘ हामी ५० वर्षदेखि लडिरहेका छौँ, यदी युद्धलाई तपाईहरु अझै अर्को ५० वर्ष लम्व्याउन चाहनुहुन्छ भने हामीपनि खुशीका साथ त्यसको सामना गर्न तयार छौँ । ’ विद्रोहीहरुलाई चेतावनी दिँदै उनले भनेका छन् ।

फिलिपिन्समा कम्युनिष्ट विद्रोहीले सन् १९६८ देखि गरिरहेको तथा विश्वकै सबैभन्दा लामो युद्धका कारण अहिलेसम्म झन्डै ३० हजार जना मानिसको ज्यान गइसकेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्