फास्ट ट्र्याक निर्माणका लागि रिले अनशन



GEDSC DIGITAL CAMERA

सञ्जय कार्की, रौतहट
तराई काठमाडौं जोड्ने प्रस्तावित निजगढ–काठमाडौं फास्ट ट्र्याक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि शनिबारदेखि रिले अनशन भएको छ।

फास्ट ट्र्याक र विमानस्थल निर्माण मूल संघर्ष समितिका संयोजक रविराज दंगाल, उपसंयोजक माला लामाको नेतृत्वमा बारा उद्योग वाणिज्य संघका प्रतिनिधिसहित १० जनाले हिजो शनिबारबाट रिले अनशन शुरू गरेका हुन्। अनशनस्थलमा मौलिक तरिकाबाट मञ्च निर्माण, प्रचारप्रसार, यात्रुसँग ५ मिनेट कार्यक्रम रिले अनशन अवधिभर सञ्चालन हुने संयोजक रविराज दंगालले बताउनुभयो। दुई चरणमा एक सय दिनसम्म हुने अनशन कार्यक्रमको दुई चरण गरी दुई हजार जना बस्ने जानकारी संयोजक दंगालले दिनुभयो।

संघर्ष समितिले ०७३ मंसिर २२ गते फास्ट ट्र्याक प्रयोग गरेर बाराबाट काठमाडौंसम्म ६१ जनाको समूह पैदल हिँडेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष दुवै आयोजनाको निर्माण थालनी गर्न ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रको सुनवाइ नभएपछि उनीहरूले रिले अनशन शुरू गरेका हुन्। नेपालको बहुचर्चित महत्वाकांक्षी योजनाका रूपमा रहेको तराई–काठमाडौं जोड्ने (फास्ट ट्र्याक) दु्रतराजमार्ग र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकार उदासिन हु“दा यसको भविष्य नै अन्योलमा परेपछि स्थानीय बासिन्दा निर्माणको पहलका लागि दबाब दिन आन्दोलनमा उत्रेका हुन्।

बाराको निजगढदेखि काठमाडौं जोड्ने अत्यन्तै छोटो दूरीको भनिएको द्रुतराजमार्गको ट्र्याक खोल्ने कार्य तीन वर्षअघि नै पूरा भए पनि यतिखेर अधिकांश स्थानको ट्र्याक पुरिएको छ। दु्रतमार्गको नाम दिइएको तराई काठमाडौं जोड्ने सो बाटो ७६ किलोमिटर मात्र पर्दछ भने सरकारको लगानीमा नेपाली सेनाले सडकको पूरै ट्र्याक खोल्ने काम सम्पन्न गरिसकेको छ। फास्ट ट्र्याक सञ्चालनमा आएपछि मुलुकको अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्