युवालाई उद्यमशीलतामा लाग्न सुझाव



काठमाडौं, (नेस)
चौधरी ग्रुपअन्तर्गतको सिजी कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले उद्यमशीलतामा प्रवेश गर्न चाहने युवालाई सम्बोधन गर्दै नेपालमा नयाँ युवा उद्यमीका व्यावसायिक योजनामा आफूहरूले व्यक्तिगत र संस्थागत रुपमा लगानी गर्ने घोषणा गर्नुभयो।

हिमालयन क्लाइमेट इनिसिएटिभले काठमाडौंमा आयोजना गरेको फाइनान्स योर ड्रिम कार्यक्रममा शुक्रबार बोल्दै चौधरी र बगरियाले उक्त घोषणा गर्नु भएको हो। उक्त संस्थाले काठमाडौं र नेपालगन्जमा सामाजिक र व्यावसायिक उद्यमशीलताको विकास तथा विस्तार केन्द्र सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा सिजी कर्पका निर्देशक निर्वाण चौधरीले सूचना प्रविधिका क्षेत्रमा रुची भएका नयाँ युवा उद्यमीलाई सहायता गर्न चौधरी ग्रुप प्रतिबद्ध भएको बताउनुभयो। उहाँले युवाका नयाँ उद्यम तथा कम्पनीलाई सहायता गर्न आफूहरूसँग प्रशस्त आर्थिक स्रोत उपलब्ध भएको पनि बताउनुभयो। उहाँले नेपालमा बैंक तथा वित्तीय संस्थाले अनुभव नभएका युवाका नयाँ योजना तथा व्यावसायिक अवधारणामा सामान्य तया लगानी नगर्ने भएकाले उद्यमशीलताका लागि सबैभन्दा महत्वपूर्ण आर्थिक सहायताको पहुँचबाट युवाहरू बञ्चित छन् भन्नुभयो। विकासशील मुलुकका सरकारले यस्तो वातावारण तय गर्नका लागि सक्रिय भूमिका खेलिरहेको उहाँको भनाइ थियो।

त्यस्तै निम्बस समूहका प्रबन्ध निर्देशक आनन्द बगरियाले नयाँ उद्यमशीलता दुवैतर्फबाट विकास हुन सक्ने बताउनुभयो। पहिले उद्यमीबाट अवधारण आएपछि मात्र लगानीकर्ताले लगानी गर्छन् भन्ने सामान्य धारणा रहेको बताउँदै धेरैजसो समयमा लगानीकर्ता आफैंले अवधारणा विकास गरेपछि नयाँ प्रतिभाशाली युवा उद्यमीले उक्त योजनालाई अघि बढाउन पनि सक्ने बताउनुभयो।

उद्यमको विकास तथा विस्तार गर्ने एचसीआई जस्ता केन्द्रले नै संसारमा उद्यमशील अवधारणाको आदानप्रदान गरी अघि बढ्ने वातावरण तयार गर्छन्।

त्यस्तै एचसीआईका संस्थापक प्रशान्त सिंहले नेपालबाट ठूलो संख्यामा बाहिर रहेका युवाका लागि रोजगारीका लागि कयौं अवसर को सिर्जना गर्नु अहिलेको सबैभन्दा महत्वपुर्ण सामाजिक अनिवार्यता भएको बताउनुभयो। उहाँले व्यावसायिक क्षेत्रले नै अधिकांश रोजगारीका अवसर सिर्जना गर्ने भएकाले मुलुकमा त्यसको उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।फाइनान्स योर ड्रिम कार्यक्रम पश्चात लगानीयोग्य अवधारणालाई सम्भावित लगानीकर्ता समक्ष प्रस्तुत गरिने छ।

प्रतिक्रिया दिनुहोस्