अनुसन्धानका लागि बेलायतबाट रेन्वो ट्राउटको आयात



रसुवा, (नेस)
रेन्वो ट्राउट माछाको अनुसन्धानको लागि बेलायतबाट रेन्वो ट्राउटको ३० हजार आँखा उम्रेको अण्डा रेन्वो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवामा आयात भएको छ।

केन्द्रका प्रमुख अर्जुनबहादुर थापाका अनुसार बेलायतको ट्राउट लज कम्पनीबाट नश्ल सुधारिएको ट्राउट माछाको आँखा उम्रेको ३० हजार आयात गरिएको हो। बेलायतबाट ६० हजार अण्डा आयात गरिएको भए पनि नुवाकोटको मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीमा ३० हजार र रसुवाको अनुसन्धान केन्द्रमा ३० हजार अण्डा बाडिएको हो।

अहिले आयात गरिएको अण्डा नश्ल सुधारिएको अण्डा भएकाले जिल्लामा रेन्वो ट्राउट माछा उत्पादनमा वृद्धि हुने केन्द्रले जनाएको छ। दुई वर्ष अघि स्थापना भएको केन्द्रमा माछाको अनुसन्धानका लागि ३१ वटा रेसवे निर्माण गरिएको छ।

यस वर्ष केन्द्रले करिब दुई लाख ५० हजार माछाका भुरा तथा आँखा उम्रिएको अण्डा कृषकलाई बिक्री गर्ने लक्ष्य राखेको छ। जिल्लाको धुन्चे, स्याफ्रु तथा गोल्जुङमा व्यावसायिक रुपमा रेन्वो ट्राउट उत्पादन हुने गरेको छ। हिमाली आयोजनाको सहयोगमा ५४ घण्टा लगाएर अण्डा रसुवामा आयात गरिएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्