चालू आवमा टेलिकमको आम्दानी ४७ अर्ब पुग्ने प्रक्षेपण



????????????????????????????????????

नेपाल समाचारपत्र
काठमाडौं
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल टेलिकमले तथ्यांकभन्दा पनि परिणाममा जोड दिनुपर्ने बताउँदै प्रतिस्पर्धात्मक रुपमा नेपाली जनताको हितमा समर्पित हुने गरी कार्य गर्न आग्रह गर्नुभएको छ। नेपाल टेलिकमको १३औं वार्षिकोत्सवका अवसरमा शनिबार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले दुर्गम स्थान र शहरी क्षेत्रका अस्पताल र स्कुल÷कलेजमा नेटवर्क विस्तार गरी सबैलाई प्रविधिको माध्यमबाट एक अर्कासँग सम्पर्क गर्न सुझाव दिनु भएको छ। कार्यक्रममा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले राष्ट्र र जनताप्रति उत्तरदायी रही आफूलाई एक्लो प्रतिस्पर्धी सावित गर्न सकोस् भन्ने शुभकामना प्रदान गर्दैै आगामी दिनमा समेत कम्पनीले आर्थिक अनुशासन, सुशासन र पारदर्शितामा कमी आउन नदिने विश्वास व्यक्त गर्नुभयो।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले नेपालमा दूरसञ्चार सेवा भित्र्याउन महत्वपूर्ण योगदान गरेकाले पनि कम्पनीप्रति सबैको अपनत्व भएको बताउनुभयो। प्रविधिमा भएको परिवर्तनलाई आत्मसात गरी गुणस्तरीय सेवा प्रदान गर्नु र यसको बजारीकरण समेत गर्नु आवश्यक भएकाले त्यसैअनुसार आगामी दिनमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले प्रतिस्पर्धाको बजारमा सधैँ सतर्क रहनुपर्ने आवश्यकता औल्याउँदै नवीनतम् प्रविधिको माध्यमबाट सधै सेवाग्राहीलाई सन्तुष्टी प्रदान गर्न सुझाव दिनुभयो। उहाँले लामो समयदेखि सेवा प्रदान गरिरहेको र विश्वसनीयसमेत भएकाले नेपाल टेलिकमलाई नै प्राधिकरणले समेत विश्वास गरिरहेको बताउनुभयो।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हाल १ करोड ६२ लाख ग्राहक आधार भएको कम्पनीले प्रत्येक वर्ष सरकारलाई समेत सबैभन्दा बढी कर तिरेर सम्मानित भएको जानकारी गराउनुभयो। कम्पनीलाई अझै प्रतिस्पर्धी बनाउनका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रियामा रहेको र यसका लागि परामर्श कार्य एक वर्षमा पूरा हुने अपेक्षा गर्नुभयो। उहाँले कम्पनीले वार्षिकोत्सवका अवसरमा विभिन्न छुटको सुविधा उपलब्ध गराएको जानकारी पनि गराउनुभयो।

कम्पनीले सिंहदरबार अगाडिको यूएनआई शान्तिमार्ग मर्मतका लागि ४० लाख रुपियाँ सहयोग गरेको छ। सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सो बराबरको चेक सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई हस्तान्तरण गर्नुभयो। वार्षिकोत्सवको अवसरमा कम्पनीमा २० वर्ष भन्दा बढी सेवा गर्ने काठमाडांै क्षेत्रका कर्मचारीलाई संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले दीर्घसेवा पदकले सम्मानित गर्नुभयो। काठमाडौं क्षेत्रका १ सय ३० कर्मचारीसहित अन्य क्षेत्र समेत गरी २ सय ६३ कर्मचारीलाई शनिबार सो पदकले सम्मानित गरिएको छ। त्यसैगरी उत्कृष्ट कार्य गरे वापत ५० हजार रुपियाँ राशीको पुरस्कार सहित १० जना कर्मचारीलाई मन्त्री कार्कीले सम्मानित गर्नुभयो। प्रशंसनीय कार्य गरे वापत १७ जना कर्मचारीलाई संसदको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले प्रमाणपत्र सहित सम्मानित गर्नुभयो।

१३ वर्ष अघि कम्पनीको ग्राहक आधार ४ लाख २२ हजार रहेकोमा हाल कम्पनीको ग्राहक आधार १ करोड ६२ लाख नाघिसकेको छ। कम्पनीले ७५ जिल्लामा ताररहित प्रविधिमा आधारित मोबाइल तथा डाटा सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको छ। कम्पनीले आधारभूत टेलिफोन ताररहित जीएसएम मोबाइल, अति दुर्गम विकट स्थानमा भीसीयाट प्रविधिमा आधारित सेवा, इन्टरनेटरडाटा सेवा अन्तर्गत थ्रिजी इभीडीयो वाईम्याक्स, वाईफाई हटस्पट र वारलेस अन्तर्गत एफटीटीएच एडीएसएल फाइवर लेस तथा अन्य भीएएस सेवाहरू उपलब्ध गराउँदै आएको छ। मुलुकको डाटा सेवामा समेत सवैभन्दा बढी ग्राहक आधार भएको सेवा प्रदायकको रुपमा कम्पनी स्थापित भएको छ। हालै कम्पनीले मुलुकमै फोर जी सेवा सञ्चालनमा ल्याएको छ।

कम्पनीको ग्राहक आधार आधारभूत सेवा २०७२ असार मसान्तमा१ करोड २९ लाख (४८ दशमलव ७७ प्रतिशत टेलीघनत्व) रहेकोमा २०७३ असार मसान्तमा १ करोड ५० लाख (५३ दशमलव ७१ प्रतिशत टेलीघनत्व) पुगेको र क्रमिक रुपमा वृद्धि हुँदै २०७३ मांसिर मसान्तसम्म ग्राहक आधार १ करोड ६२ लाख (५७ दशमलव ३२ प्रतिशत टेलीघनत्व) पुगेको कम्पनीले जनाएको छ।

यसैगरी आर्थिक वर्ष २०७१/७२ मा ४२ अर्व ६३ करोड रुपियाँ आम्दानी भएकोमा २०७२÷७३ मा आय वृद्धि भई ४४ अर्ब २० करोड पुगेको छ। गत आव २०७१/७२ मा कम्पनीको खुद मुनाफा १४ अर्ब ५५ करोड भएकोमा आव २०७२/७३ मा स्वेच्छिक अवकासमा सहभागी भएका ८०६ जना कर्मचारीलाई ४ अर्ब ३६ करोडको दायित्व भुक्तानी गरे पश्चात पनि १३ अर्ब २७ करोड रुपियाँ खुद मुनाफा गर्न सकेको छ। कम्पनी आव २०७३/७४ मा ४७ अर्व १० करोड रुपियाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।
१३औं वार्षिकोत्सव कम्पनीले काठमाडौं र पोखरामा जीएसएम प्रिपेड सेवामा फोरजी सेवा प्रारम्भ गरेको छ। त्यसैगरी सीआरबीटी सेवा पुनः सञ्चालन गरेको छ। मोबाइल सेवामा कल वेटिङ र कल फर्वाडिङ जस्ता सुविधा उपलब्ध गराइएको छ। जीएसएम नेटवर्कका सेवाग्राहीहरूलाई २० रुपियाँमा ५ दिन म्याद भएको सय एमबी फेसबुक प्याकेज उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्